सरकार ढल्न लाग्यो भन्नु विपक्षीको छटपटी मात्र हो : उपमहासचिव ज्ञवाली
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको सरकार सङ्कटमा पर्यो वा छिट्टै ढल्छ भन्ने कुरा विपक्षीलाई छटपटी मात्र भएको बताउनुभएकाे छ ।
नेकपा (एमाले) पर्वतले आजदेखि सञ्चालन गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले वर्तमान सरकार २०८४ सालसम्मै टिक्ने दाबी गर्नुभएकाे हाे । उहाँले भन्नुभयाे, “सरकार ढुक्कसँग तीन वर्षसम्म चल्ने भयो भनेपछि सरकार बाहिर रहेका दललाई छटपटाहट भएको हो” ।
मुलुकमा देखिएको सङ्कट समाधान गर्नकै लागि दुई ठूला दल एकठाउँमा आएको उल्लेख गर्दै नेपाली कांग्रेस र एमालेबीच विशेष सहमति अनुसार सरकार बनेकाे हाे । त्यसैले वर्तमान सरकार कुनै पनि सङ्कटमा नपर्ने उहाँकाे भनाइ थियो ।
सरकारलाई घेराबन्दीमा पार्नका लागि विभिन्न चलखेल सुरु भए पनि कुनै पनि हालतमा सरकार नडगमडाउने उहाँले बताउनुभयाे। कांग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी दल मात्र नभएर एकअर्काका सहयात्री भएकाले मुलुक सञ्चालनका लागि दुवै दल गम्भीर रहेको उहाँले बताउनुभयाे ।