नेपालको व्यापार घाटा सात खर्ब २३ अर्ब नाघ्यो, निर्यातमा सुधार, आयातमा वृद्धि

काठमाडौं,२१ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको व्यापार घाटा सात खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार यो अवधिमा वस्तु व्यापार घाटा ४.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.६ प्रतिशतले घटेको थियो।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ९.८ प्रतिशत थियो। यसले निर्यातको तुलनामा आयात उच्च रहेको देखाउँछ।

चालु आर्थिक वर्षको ६ महिनामा कूल वस्तु निर्यात ३१.८ प्रतिशतले वृद्धि भई ९८ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ७.२ प्रतिशतले घटेको थियो। यस वर्ष भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४६.१, १९.७ र १ प्रतिशतले बढेको छ।

सोयाबिन तेल, चिया, पोलिस्टर यार्न, पार्टिकल बोर्ड र अलैंचीको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। तर, पाम तेल, जिंक शिट, अदुवा, तयारी पोशाक र जडीबुटीको निर्यात भने घटेको छ।

यता, वस्तु आयात ७.१ प्रतिशतले बढेर ८ खर्ब २२ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात ३.१ प्रतिशतले घटेको थियो। भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.९, ८.९ र ९ प्रतिशतले बढेको छ।

कच्चा भटमास तेल, चामल, यातायात उपकरण, सवारीसाधनका पार्टपुर्जा, स्पन्ज आइरन र खाने तेलको आयात बढेको छ। पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, सुन, रासायनिक मल र केराउको आयात भने घटेको छ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका अन्य प्रमुख नाकाबाट निर्यात घटेको छ। आयाततर्फ सुख्खा बन्दरगाह बाहेकका अन्य सबै प्रमुख नाकाहरुबाट आयात बढेको छ।
परिवर्तनीय मुद्रामा आयात

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब ५६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७६ अर्ब २५ करोड रुपैयाँ थियो। यसले परिवत्र्य मुद्रामा हुने आयातमा पनि वृद्धि भएको देखाउँछ। निर्यातमा सुधार देखिए पनि आयातमा भएको वृद्धिले व्यापार घाटा बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *