किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र

भोजपुर, २७ माघ । कृषि ज्ञान केन्द्र भोजपुरले किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गरिरहेको छ। यस वर्ष जिल्लाबाट ३५ करोड २८ लाख रुपैयाँ बराबरको सुन्तला निर्यात भएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख मुकेशकुमार यादवका अनुसार जिल्लाबाट ४ हजार २ सय मेट्रिक टन सुन्तला निर्यात भएको छ। भोजपुरमा ९ सय ५० हेक्टरमा सुन्तला खेती विस्तार गरिएको भए पनि ७ सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिइरहेको छ।

प्रमुख यादवले भने, “जिल्लाबाट यस वर्ष ३५ करोडभन्दा बढीको सुन्तला निर्यात भएको छ। यहाँको ७ सय ९० हेक्टर क्षेत्रमा विस्तार भएको सुन्तलाले उत्पादन दिइरहेको छ। आगामी दिनमा यहाँबाट निर्यात हुने सुन्तलाको परिमाण अझ बढ्ने देखिन्छ।” किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गर्न कार्यालयले आवश्यक सहयोग गर्दै आएको उनले बताए।

किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन तालिम सञ्चालन गर्नुका साथै आवश्यक उपकरण पनि हस्तान्तरण गरिएको छ। सुन्तला खेती भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ।

पछिल्लो समय भोजपुरका किसान सुन्तला खेतीतर्फ आकर्षित भएका छन्। सुन्तला खेतीमा लागेका किसानलाई आवश्यक तालिमसँगै प्राविधिक सहयोग पनि गरिएको छ। जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ। भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सुन्तला पकेट क्षेत्र विस्तार गरिएको छ।

सडकको पहुँच विस्तारसँगै विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला बाहिरका जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका छन्। यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौंलगायत सहरमा जाने गरेको छ। गत वर्ष भोजपुरबाट २९ करोड रुपैयाँ बराबरको सुन्तला निर्यात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ।