मुस्ताङमा २ हजार ५०० बढी विद्युतीय गाडी अलपत्र, गन्तव्यमा पुर्याउन समस्या
मुस्ताङ, २८ असोज । भारी वर्षापछि बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा चीनको कोरलानाकाबाट नेपाल भित्रिएका २ हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन मुस्ताङमै रोकिएका छन्।
असोज ११ गतेको भारी वर्षापछि सडक अवरुद्ध हुँदा दुई सातायता भित्रिएका विद्युतीय गाडी गन्तव्यसम्म पुर्याउन नसकिएको हो। शुक्रबार साँझदेखि सडक सञ्चालनमा आए पनि अवस्था सहज नभएकाले सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन समस्या भइरहेको छ।
नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४, न्हेचुङमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्टका अनुसार कोरलानाकाको खुला पठार र मुस्ताङ भन्सार यार्डमा दुई हजारभन्दा बढी विद्युतीय गाडी पार्किङ गरी राखिएका छन्।
कोरलास्थित बोर्डर आउट पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश धितालका अनुसार दशगजा क्षेत्रमा विभिन्न कम्पनीका दुई हजारभन्दा बढी र भन्सार यार्डमा २०० भन्दा बढी विद्युतीय गाडी राखिएका छन्।
“कोरलानाकामा भन्सार जाँचपास भइसकेपछि स्थानीय चालकले भन्सार कार्यालयसम्म ल्याइपुर्याउँछन्, त्यसपछि कम्पनीकै चालकले विद्युतीय गाडी झार्ने गर्छन्,” निरीक्षक धितालले भन्नुभयो, “नाकामा राखिएका गाडी भन्सार जाँचपासपछि तल पठाउन सहजीकरण गरेका छौँ।”
कोरलानाकाबाट भन्सार जाँचपास गरी जोमसोम झारिएका करिब ५०० भन्दा बढी विद्युतीय सवारीसाधनलाई त्यहाँका दुई पार्किङस्थलमा राखिएको छ।
बेनी–जोमसोम सडक सञ्चालनमा आए पनि अवस्था अझै नाजुक रहेकाले जोमसोममा रहेका गाडी गन्तव्यतर्फ पठाउन नसकिएको बिवाइडी कम्पनीका खरिदकर्ता साइमेक्स इङ्कका प्रतिनिधि दीपक बुढाथोकीले जानकारी दिनुभयो।
उहाँका अनुसार भारी वर्षाका कारण सडक अवरुद्ध भएयता कोरलानाकाबाट भित्रिएका बिवाइडीका विभिन्न मोडलका दुई हजारभन्दा बढी गाडी मुस्ताङमै रोकिएका छन्। साना गाडीलाई समेत गन्तव्यसम्म पुर्याउन समस्या भएपछि जोमसोम बसपार्क र भन्सार कार्यालयको पार्किङस्थलमा राखिएको उहाँले बताउनुभयो।
असोज ११ गतेअघि बिवाइडीका करिब ४५० वटा गाडी गन्तव्यतर्फ पठाइसकिएको थियो। त्यसपछि भित्रिएका गाडी भने बेनी–जोमसोम सडकको खराब अवस्थाका कारण पठाउन नसकिएको बुढाथोकीले बताउनुभयो।
साइमेक्स इङ्कले रसुवा र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट करिब तीन हजार विद्युतीय गाडी भित्र्याउने योजना बनाएको उहाँले जानकारी दिनुभयो।
प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार सोमबारसम्म कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका ६०० भन्दा बढी कन्टेनर मुस्ताङबाट गन्तव्यतर्फ प्रस्थान गरिसकेका छन्।
जिल्लामा रोकिएका कन्टेनर बाहिरिएसँगै मालवस्तु ढुवानीका लागि केही खाली कन्टेनर कोरलानाकातर्फ उकालो लागेका छन्। सडक सञ्चालनमा आए पनि अवस्था पूर्ण रूपमा सहज नभएकाले विद्युतीय सवारीसाधनको ढुवानी तथा आपूर्ति प्रक्रिया प्रभावित भएको छ।
