सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं, २८ माघ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।

सांसद सन्तोष परियारले दलित समुदायमाथि हुने जातीय विभेदविरुद्ध ठोस कानुन बनाएर अघि बढ्न माग गर्नुभयो। सांसद अब्दुल खानले गत वर्ष दुई हजार ५०७ जनामाथि बलात्कार भएको प्रहरीको तथ्याङ्क रहेको उल्लेख गर्दै प्रत्येक दिन तीनदेखि चार महिलाको बलात्कार हुने गरेको बताउनुभयो।

माघ २६ गते कैलालीको बदैगोरिया गाउँपालिकामा एक किशोरीको बलात्कार भएको उल्लेख गर्दै उहाँले दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गर्नुभयो। बर्दियाको बडैया तालको सार्वजनिक जग्गा अवैधरुपमा दर्ता गरी भोगचलन गरिएकामा प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण गराउँदा पनि कारबाही नभएको सांसद खानको आरोप थियो।

सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाले आइतबार कवाडी व्यवसायीमाथि डोजर चलाएकाले त्यस्ता काम नगर्न माग गर्नुभयो। काठमाडौँ महानगर प्रमुखले नाजीवाद वा फासीवादको अगुवाजस्तो हुन खोजेको उहाँको आरोप थियो।

सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १८ माघमा आगलागी भई २१ गते निभाएको सुनाउँदै हाइड्रोपावरका कारण आगलागी भएकाले कानुनी कारबाहीको माग गर्नुभयो।