मच्छिन्द्रनाथ रथका लागि आवश्यक बेतको सहज आपूर्तिका लागि अनुरोध
काठमाडाैं, २९ माघ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि भारतको आसामबाट नेपालमा बेत ल्याउँदा कानुनी र प्राविधिक अवरोधहरू झेल्नु परेको बताउनुभएको छ ।
उहाँले सरोकारवाला निकायहरूसँग यो प्रक्रियालाई सहज बनाउन आग्रह गर्नुभएको छ ।
गुवाहाटी विश्वविद्यालयले आयोजना गरेको “भारत-नेपाल सम्बन्धको जरा: गुरु मच्छिन्द्रनाथको दृष्टिकोण” विषयक अन्तर्राष्ट्रिय संगोष्ठीको उद्घाटन सत्रमा प्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि आवश्यक बेतको नेपालमा सहज आपूर्तिका लागि अनुरोध गर्नुभएको हो ।
“रथ निर्माणका लागि प्रयोग गरिने बेत आसामबाट ल्याउनुपर्ने हुन्छ, तर यो सहज छैन। म यो प्रक्रियालाई सहज बनाउन अनुरोध गर्दछु। नेपाल र आसामको सम्बन्ध रातो मच्छिन्द्रनाथको इतिहास जत्तिकै पुरानो र बलियो छ,” उहाँले भन्नुभयो, “अब काठमाडौं र आसामबीच सीधा हवाई उडानको व्यवस्था गर्न सकियोस्। यसले दुई देशबीचको आवतजावत बढ्छ र सम्बन्ध थप बलियो हुनेछ।”
प्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको जात्राका रोचक तथ्यहरूबारे जानकारी गराउँदै विश्वविद्यालयका उपकुलपति, प्राध्यापकहरू, विश्वविद्यालय परिवार र गुवाहाटी र आसामका नागरिकहरूलाई जात्रा हेर्न ललितपुर आउन निम्तो दिनुभयो। “रातो मच्छिन्द्रनाथको जात्रा हेर्न ललितपुर आउनुहोस्, हामी भव्य स्वागत गर्न आतुर छौं,” उहाँले भन्नुभयो।
रातो मच्छिन्द्रनाथको रथ कुनै किलाकाँटाको प्रयोग बिना बेतले बाँधेर निर्माण गरिन्छ। रथ बनाउन प्रयोग गरिने बेत भारतको आसामबाट ललितपुर ल्याउने चलन छ। प्रमुख महर्जनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलमा पर्यटन तथा संस्कृति समितिका संयोजक वडाध्यक्ष विकासमान श्रेष्ठ, समितिका सदस्यहरू रूपेन्द्रराज शाक्य र राजेन्द्र महर्जन, महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ, महानगरपालिकाका अमूर्त सम्पदा सल्लाहकार बदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, रातो मच्छिन्द्रनाथ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष शान्तमान महर्जन, ञवाल गुठीका गुठियार नवीन महर्जन, घःकु गुठीका गुठियार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार बाराही लगायतको सहभागिता थियो।
कार्यक्रममा गुवाहाटी विश्वविद्यालयका उपकुलपति नानी गोपाल महन्तले रातो मच्छिन्द्रनाथले ललितपुर र भारतको सम्बन्धलाई बलियो बनाएको बताउनुभयो। सांस्कृतिक र ऐतिहासिक रूपमा दुई देशबीचको सम्बन्ध बलियो भएको स्पष्ट पार्दै उहाँले यो सम्मेलनले सम्बन्धलाई थप कसिलो बनाउने विश्वास व्यक्त गर्नुभयो। मजुली सांस्कृतिक विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डम्बरुधर नाथले भारत र नेपालबीचको गहिरो सम्बन्धको सेतु रातो मच्छिन्द्रनाथ भएको बताउनुभयो।
रातो मच्छिन्द्रनाथबारे गुवाहाटीमा विभिन्न विषयमा सातवटा कार्यपत्र प्रस्तुत गरिएका थिए। ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले ‘नेपालमा गुरु मच्छिन्द्रनाथ’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
महानगरपालिकाका अमूर्त सम्पदा सल्लाहकार न्याछ्योले सम्पदा र विश्व सम्पदाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। पानेजु संघका अध्यक्ष शाक्यले रातो मच्छिन्द्रनाथको पूजा विधि, ज्यापू समाजका अध्यक्ष महर्जनले जात्रा व्यवस्थापन र रथ निर्माणसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । गुठी संस्थानका निमित्त प्रशासक शालिकराम सुवेदीले आसामबाट बेत संकलन प्रक्रियाका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
त्रिभुवन विश्वविद्यालय, इतिहास विभागका पूर्व प्रमुख प्राध्यापक राजाराम सुवेदीले ‘नेपालमा सिद्ध मच्छिन्द्रनाथको भूमिका’ विषयक कार्यपत्र र डा. विदु प्रकाश कायस्थले रातो मच्छिन्द्रनाथ, जलवायु परिवर्तन र यसको प्रभाव विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।