जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी र कामदारको खोजी तीव्र
नुवाकोट, ३० भदौ । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीपछि नुवाकोटका दुई जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोज र उद्धार कार्यलाई तीव्र बनाइएको छ।
माथिल्लो त्रिशूली थ्री ‘ए’ विद्युत् केन्द्र र माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले गरिरहेको छ। भदौ १० गतेको बाढीपछि खटिएको टोलीले थ्री ‘ए’को सम्भावित स्थानमा खोजीकार्य अन्तिम चरणमा पुर्याएको छ भने थ्री ‘बी’मा निर्माणाधीन विद्युत् उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन तथा भग्नावशेष हटाउने कार्य जारी छ।
आज जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूले खोज तथा उद्धार कार्यको स्थलगत अवलोकन गरेका छन्। खोज तथा उद्धारमा भएको प्रगति, चुनौती र आवश्यक सहजीकरणबारे उद्धारमा खटिएका सुरक्षाफौजसँग जानकारी लिएको प्रमुख रेग्मीले बताए।
१८६ जना सम्पर्कविहीन
माथिल्लो त्रिशूली थ्री ‘बी’ जलविद्युत् आयोजनाका प्रमुख आनन्द ढुङ्गेलले जिल्ला सुरक्षा समितिलाई दिएको जानकारीअनुसार बाढीपछि आयोजना र परामर्शदाताका तर्फबाट कार्यरत ४४ जना कर्मचारी सम्पर्कविहीन भएका छन्। त्यस्तै आयोजनाको निर्माणमा संलग्न दुई कम्पनीमा आबद्ध चार जना चिनियाँ नागरिकसहित १४२ जना कर्मचारी तथा कामदार कार्यक्षेत्रमा फसेको आशङ्कामा खोज तथा उद्धार तीव्र बनाइएको छ।
आयोजना प्रमुख ढुङ्गेलका अनुसार कर्मचारी तथा कामदार फस्न सक्ने सम्भावित स्थानमध्ये प्रशासनिक भवन र पाँच वटा आवासीय भवनमा खोजतलास गरिइसकेको छ। ती संरचना पुरिएको नभई बाढीले नै बगाएर लगेको पाइएको उनले बताए।
“सुरुङ मार्गबाट आवतजावत सहज रहेकाले त्यहाँ पनि खोजी गरियो। अब सम्भावित स्थानमध्ये विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ। अहिले त्यही हेभी उपकरण प्रयोग गरेर खोज तथा उद्धार तीव्र बनाइएको छ,” ढुङ्गेलले भने।
खोज तथा उद्धारका लागि उत्खनन भइरहेको उक्त भवनको अग्रभागका पाँच वटा पिल्लर मात्र देखिएका छन्, अन्य संरचना बाढीले बगाएर उक्त स्थान बगरमा परिणत भएको पाइएको छ। हाल सोही क्षेत्रमा भग्नावशेष हटाउँदै खोजी भइरहेको छ।
सेना, सशस्त्र प्रहरी परिचालित
बाढीपछिको असहज परिस्थितिका बाबजुद नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले खोज तथा उद्धार कार्य निरन्तर राखेको छ। हाल त्रिशूली थ्री ‘बी’मा नेपाली सेनाका सेनानी केशव थापाको नेतृत्वमा ८६ जना र सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक प्रेमसिंह धामीको नेतृत्वमा १० जनाको टोली खटिएको छ। विदेशी उद्धार विज्ञसहितको टोलीबाट सुरु गरिएको यो कार्य हाल जलविद्युत् आयोजनाका विज्ञसहितको नेपाली टोलीले अघि बढाइरहेको छ।
सेनानी थापाका अनुसार सम्भावित स्थानबाट खोज तथा उद्धार गर्दै अहिले विद्युत् उत्पादन गृहका लागि निर्माणाधीन भवन क्षेत्रमा खोजी केन्द्रित गरिएको छ र आवश्यक उपकरण तथा स्रोतसाधन परिचालन गरिएको छ। संयुक्त सुरक्षा फौजले नेपाल विद्युत् प्राधिकरण तथा जलविद्युत् क्षेत्रका विज्ञसँग परामर्श गरी आवश्यक यन्त्र–उपकरण परिचालन गरेको छ। यसअघि थ्री ‘बी’को खोज तथा उद्धारमा चीन, अष्ट्रेलिया, क्यानडा र दुबईबाट आएका सुरक्षाकर्मी र उद्धारकर्मी समेत परिचालन गरिएका थिए।
बाढीपछि आयोजना क्षेत्र दलदले लेदोसहितको बगरमा परिणत भएकाले जोखिमपूर्ण अवस्थामै खोज तथा उद्धार गर्नुपरेको छ। बहादुर श्री शेरगण नुवाकोटका गणपति, प्रमुख सेनानी आविष्कार ढुङ्गानाका अनुसार भग्नावशेष हटाउँदै सम्भावित स्थानमा खोजी भए पनि हालसम्म थप केही पत्ता लाग्न सकेको छैन।
“बाढीका कारण आयोजना क्षेत्र अत्यन्त जोखिमपूर्ण बनेको छ। भग्नावशेष हटाउँदै सम्भावित स्थानमा खोजी भइरहेको छ। हालसम्म थप केही पत्ता लाग्न सकेको छैन,” प्रमुख सेनानी ढुङ्गानाले बताए।
थ्री ‘ए’मा दुई जना सकुशल उद्धार
बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् केन्द्रबाट बाढी आएको १० दिनपछि दुई जनालाई सकुशल उद्धार गरिएको थियो। सोही क्रममा पहिचान नखुलेको एउटा शव समेत भेटिएको थियो।
थ्री ‘ए’को विद्युत् उत्पादन गृहसहितको सुरुङ क्षेत्रमा नेपाली सेनाको नेतृत्वमा रहेको संयुक्त सुरक्षा फौजले सम्पूर्ण क्षेत्रमा यसअघि नै खोज तथा उद्धार कार्य गरिसकेको छ। त्यसक्रममा थप केही फेला नपरे पनि बाढीले क्षतिग्रस्त बनाएका स्थानमा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ।
बाढीबाट प्रभावित दुवै जलविद्युत् आयोजनामा हराइरहेका कर्मचारी तथा कामदारको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित सम्बन्धित प्राविधिक विज्ञको टोलीले सम्भावित स्थानमा खोज तथा उद्धार निरन्तर राखेको छ।
