धौलागिरि आधार शिविर पदमार्ग: डोरीको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

म्याग्दी, फागुन ४ । म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा अवस्थित धौलागिरि आधार शिविर पुग्न पदयात्रीहरू अझै पनि डोरीको सहायतामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा रहेको अप्ठ्यारो भीरमा अझैपनि डोरी र खरको गाँज समातेर यात्रा गर्नुपर्ने बाध्यता भएकाे हाे।

पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनका अनुसार कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब १०० मिटरको दूरीमा डोरी र खरको गाँजको सहायता लिनुपर्ने बाध्यता छ। हालै धौलागिरि आधार शिविरको भ्रमणबाट फर्किएका पुनले यी दुई स्थानमा पदमार्ग नहुँदा पर्यटकहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएको बताए।

“बेनी–चिमखोला–घ्याँसीखर्क हुँदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरूमा निर्माणाधीन जलविद्युत आयोजनाले बनाएको सडकमा चार घण्टामा सवारीसाधनमार्फत पुग्न सकिन्छ,” पुनले भने, “तर कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न सकेका छैनन्।”

उनले थप दुई ठाउँमा पदमार्ग र राहुघाट नदीमा अस्थायी वा स्थायी प्रकृतिका झोलुङ्गे पुल निर्माण गर्न सके धौलागिरि आधार शिविरलाई छोटो दूरीमा पुग्न सकिने नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने बताए।

चिमखोलाका ललित गर्बुजाको नेतृत्वमा मण्डली युवा क्लबका पदाधिकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोलीले गत माघ महिनाको अन्तिम साता आधार शिविरको भ्रमण गरेको थियो। टोलीले पदमार्ग निर्माण, पुल निर्माण र संकेत चिन्ह राख्न वडाका जनप्रतिनिधिलाई सुझाव दिएको छ।

समुन्द्र सतहदेखि ४,०५० मिटरको उचाइमा रहेको धौलागिरि हिमालको फेदमा पुगेर हिमाललाई नजिकबाट नियाल्न पाउनु यस क्षेत्रको मुख्य आकर्षण हो। यसका साथै सुन छहरा, निलिबराह र कालीबराहलगायतका तालहरूको अवलोकन गर्न सकिन्छ। स्थानीय बासिन्दाहरू वैशाख–जेठ महिनामा यार्सागुम्बा संकलनका लागि यही पदमार्ग हुँदै धौलागिरि आधार शिविर क्षेत्रमा जाने गर्छन्।

पर्यटन मन्त्रालयले ससलधारादेखि आधार शिविर जोड्ने १८ किलोमिटर पदमार्ग निर्माणका लागि आर्थिक वर्ष २०७९/०८० मा १ करोड ५४ लाख रुपैयाँको योजना सुरु गरेपनि सर्वेक्षणका क्रममा भिरलाई छुटाइएकाले त्यहाँ पदमार्ग निर्माण हुन सकेन।

रघुगंगा गाउँपालिका–७ का वडा अध्यक्ष थकप्रसाद पाइजाले जहाँ अप्ठ्यारो थियो, त्यहाँ पदमार्ग नबनेपछि प्रदेश र संघीय सरकारसँग थप बजेटको माग गरिएको बताए। “कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटक बढ्नेछन्,” उनले भने।

वडा अध्यक्ष पाइजाका अनुसार यो वर्ष कालीबराह–धौलागिरि आइसफल पदमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट २० लाख रुपैयाँ र नेपाल पर्यटन बोर्डले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

बेनी–जोमसोम सडक निर्माण भएपछि तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा २०६८ सालमा गलेश्वरदेखि मुस्ताङको लेते निस्कने धौलागिरि आइसफल पदमार्गको अध्ययन र पहिचान भएको थियो। रघुगंगा गाउँपालिकाले आइसफल पदमार्गअन्तर्गत धौलागिरि आधार शिविर, निलीबराह ताल, कालीबराह ताल, सोवाङधुरीलगायतका दर्जनौं पर्यटकीय गन्तव्य समेटिएको १ सय २२ किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारेर पूर्वाधार निर्माणका लागि प्रदेश र संघीय सरकारमा पेश गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रुईसे डाँडादेखि धवलागिरि आइसफलसम्मको पदमार्गलाई नयाँ तथा विकास गर्नुपर्ने पर्यटकीय गन्तव्यका रूपमा छनौट गरेको छ। यद्यपि, पूर्वाधार र आवश्यक व्यवस्थापकीय अभावले यो पदमार्ग औपचारिक रूपमा सञ्चालनमा आउन सकेको छैन।

ससलधारा हुँदै आधार शिविर पुग्ने पदमार्ग निर्माण सुरु गरिए पनि आधार शिविरदेखि कालीबराह हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरेटोबाटो र भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पहिचान गरिएको पदमार्गमा समेत सिँढी चिनेर पदमार्गलाई स्तरोन्नति गर्नुपर्ने काम बाँकी छ।