काठमाडौँ र कान्स सहरबीच चलचित्र सहकार्यको नयाँ अध्याय : कार्यवाहक प्रमुख डङ्गोललाई कान्समा स्वागत

काठमाडौँ, ६ जेठ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र फ्रान्सको विश्वप्रसिद्ध कान्स सहरका मेयर डेविड लिसनार्डबीच द्विपक्षीय भेटवार्ता भएको छ । ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि मंगलबार साँझ मेयर लिसनार्डले सिटी हलमा डङ्गोललाई विशेष स्वागत गर्नुभएको हो ।

युनेस्कोले काठमाडौँ र कान्स दुवै सहरलाई चलचित्रका लागि ‘क्रियटिभ सिटी’ (Creative City of Film) को रूपमा मान्यता दिएको छ । सोही पृष्ठभूमिमा भएको यस भेटवार्ताले दुई सहरबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै चलचित्र विकासका क्षेत्रमा सहकार्य गर्ने नयाँ अध्यायको सुरुवात गरेको छ ।

विश्व चलचित्र समुदायका स्थापित सहरहरूसँगै काठमाडौँले पनि आफूलाई ‘फिल्म सिटी’का रूपमा विश्वमञ्चमा प्रस्तुत गर्ने यो एक महत्वपूर्ण अवसर बनेको महानगरपालिकाले जनाएको छ । भेटमा दुई सहरबीच चलचित्र प्रवर्द्धन, अनुभव आदानप्रदान र सांस्कृतिक सहकार्यका विविध पक्षमा छलफल भएको थियो ।

काठमाडौँ महानगरपालिकाले मेयर लिसनार्ड र कान्स सहरले देखाएको न्यानो आतिथ्य र सहकार्यको हातप्रति आभार व्यक्त गरेको छ । यो संवादले आगामी दिनमा नेपाली चलचित्र क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्न र काठमाडौँमा चलचित्र संस्कृतिको विकास गर्न ठोस मद्दत पुग्ने अपेक्षा गरिएको छ ।