नेप्से परिसूचक २९ अंकले बढ्याे, कारोबार रकम १० अर्बभन्दा बढी

काठमाडौँ, ५ फागुन । सेयर बजारमा नेप्से परिसूचक आज २९.८७ अंकले बढेको छ ।

सोमबार नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २९.८७ अंकले बढेर २ हजार ७२७.९१ को बिन्दुमा पुगेको हो ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार ९ अर्ब ४७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०२ स्टकको १ लाख २ हजार ८६१ पटकको कारोबारमा १० अर्ब ४ करोड ९६ लाख ५४ हजार रुपैयाँबराबरको १ करोड ८० लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, यस दिन ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाईमूल्य र भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन सप्तकोशी डेभलपमेन्टको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको यस दिन ३२ करोड ६४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन सिईडिबी होल्डिङ्गसको करिब साढे २७ करोडको शेयर कारोबार भएको छ ।