डागा युनाइटेड भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

काठमाडाैं, फागुन १३ । भुटानको डागा युनाइटेड एफसी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। यससँगै गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।

मेची रङ्गशालामा सोमबार भएको अन्तिम क्वाटरफाइनलमा डागा युनाइटेडले विभागीय टोली एपिएफलाई ३–२ गोल अन्तरले पराजित गर्‍यो। अब डागा युनाइटेडले फाइनल प्रवेशका लागि झापा–११ सँग प्रतिस्पर्धा गर्नेछ।

खेलको ३४औँ मिनेटमा लाक्पा पाख्रिनले गोल गर्दै डागा युनाइटेडलाई अग्रता दिलाए। त्यसपछि ३६औँ मिनेटमा हेमराज भुजेलले गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफमा एपिएफ २–० ले पछि परेको थियो।

खेलको ५९औँ मिनेटमा एपिएफका दिपेश धिमालले एक गोल फर्काउँदै टोलीलाई २–१ को स्थितिमा पुर्‍याए। तर, ६३औँ मिनेटमा भुजेलले व्यक्तिगत दोस्रो गोल गर्दै डागा युनाइटेडलाई ३–१ को अग्रता दिलाए। खेलको इन्जुरी समयमा एपिएफका सुमन श्रेष्ठले पेनाल्टीमार्फत गोल गरे पनि हार टार्न सकेनन्।

अब पहिलो सेमिफाइनलमा आयोजक भद्रपुर ब्लेजर्स र बङ्गलादेशको काउर्न बजार प्रगति सङ्घ भिड्नेछन्। प्रतियोगिताको विजेताले १३ लाख र उपविजेताले ७ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *