महाशिवरात्रिको तयारी पूरा, पशुपतिमा भक्तजनलाई सहज दर्शनको व्यवस्था

काठमाडौँ, १३ फागुन । भोलि फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।

पशुपति क्षेत्र विकास कोषले आज पत्रकार सम्मेलन गरी भक्तजनलाई सहज रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि दश उपसमिति गठन गरिएको छ। प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले यसपटक दुई सेकेन्डमा दश जनालाई दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिए।

उनका अनुसार पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम र उत्तर ढोकामा तीन/तीन वटा तथा पूर्व र दक्षिण ढोकामा दुई/दुई वटा लाइन रहनेछन्। पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले सोहीअनुरुप सहयोग गर्न उनले भक्तजनलाई आग्रह गरेका छन्।

फागुन १४ गते बिहान २:३० बजेदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला रहनेछ र यस अवधिमा पाँच लाखभन्दा बढीले प्रत्यक्ष दर्शन गर्ने अनुमान गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ। नागाबाबाका लागि पशुपतिनाथको मूल मन्दिर परिसरमा धुनीको व्यवस्था गरिएको छ।

महाशिवरात्रिमा भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक आउने अपेक्षा गरिएको छ।