वीरगञ्ज नाकाबाट सात महिनामा एक खर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज, १३ फागुन । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ।
डिजेल, पेट्रोल, एलपिजी, एटिएफ र मट्टितेल गरी सो मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको तुलनामा यो वर्ष ८४ करोड रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको हो। कार्यालयका सूचना अधिकारी अमित तिवारीले पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए।
कार्यालयका अनुसार पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड रुपैयाँ राजस्व संकलन भएको छ। गत वर्षको सोही अवधिमा ३८ अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
सात महिनामा ५१ अर्ब ७९ करोड रुपैयाँ बराबरको डिजेल, २२ अर्ब १४ करोड रुपैयाँ बराबरको पेट्रोल र २० अर्ब ९० करोड रुपैयाँ बराबरको एलपिजी आयात भएको छ।