कुमारी सहकारी हिनामिना प्रकरण: जिल्ला समन्वय प्रमुखसहित २५ जनाविरुद्ध एक अर्ब १३ करोडको मुद्दा

काठमाडाैं, १६ फागुन । म्याग्दी बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरुद्ध एक अर्ब १३ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार म्याग्दी जिल्ला अदालतमा उनीहरुविरुद्ध अभियोगपत्र दर्ता गरेको हो।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनीहरूलाई विपक्षी बनाइएको हो। उनीहरूले संगठित रूपमा सहकारीमा निक्षेप रहेको शेयर तथा बचत रकम, संस्थाको सम्पत्ति, बाह्य ऋण र नेपाल सरकारको राजस्वसमेत हिनामिना गरेको आरोप छ। उनीहरूलाई सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन २०६४ बमोजिम थप अनुसन्धान र कारबाही गर्न माग गरिएको छ।

जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराम पौडेलका अनुसार मुद्दामा आगामी आइतबारदेखि थुनछेक बहस सुरु हुनेछ। प्रहरीले २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरी हिरासतमा छन् भने १९ जना फरार छन्।

अनुसन्धानबाट खुलेका विवरण अनुसार, कुमारी सहकारीका पूर्वसचिव, उपाध्यक्ष तथा ऋण समितिका पदाधिकारी राजकुमार थापाले १७ करोड ५८ लाख ६३ हजार ४२६ रुपैयाँ हिनामिना गरेका छन्। त्यस्तै, सहकारीका पूर्वप्रबन्धक रूद्र गुरूङले १३ करोड ५९ लाख ४८ हजार ६०९ रुपैयाँ, सचिव देवीकुमारी थापाले तीन करोड ७१ लाख ४ हजार ६३१ रुपैयाँ, पूर्वअध्यक्ष मनप्रसाद थकालीले पाँच करोड ८२ लाख ६६ हजार ७ रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ।

उनीहरूले सहकारीको रकमबाट निजी सम्पत्ति खरिद गर्ने, निजी कम्पनीमा रकम निकासा गराउने, गैरकानुनी रूपमा ढुकुटी कारोबार गर्ने, कर्जा प्रक्रियाको मापदण्ड पूरा नगरी कर्जा प्रवाह गर्ने, पेश्कीका नाममा रकम हिनामिना गर्ने, र सीमित व्यक्तिलाई शेयर सदस्य बनाएर लाभ लिने जस्ता कार्य गरेको अभियोग लगाइएको छ।