कुमारी सहकारी घोटाला: जिसस प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा
काठमाडाैं, २२ फागुन । म्याग्दीकाे बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको एक अर्ब रुपैयाँभन्दा बढीको आर्थिक हिनामिना र अपचलनको आरोपमा जिल्ला समन्वय समितिका प्रमुख (जिसस प्रमुख) राजकुमार थापासहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
जिल्ला न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले गरेको थुनछेक बहसपछि जिसस प्रमुख एवं कुमारी सहकारीका पूर्व सञ्चालक थापा, सहकारीका पूर्व अध्यक्ष मनप्रसाद थजाली, पूर्व प्रबन्धक रुद्र गुरुङ, सञ्चालक समितिका सचिव देवी थापा र लेखा समितिका पूर्व सदस्य लोकबहादुर पुन (लोकेश) लाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।
यसैगरी, प्रहरी हिरासतमा रहेका र हाल अस्पतालमा उपचार गराइरहेका सहकारीका पूर्व अध्यक्ष थमबहादुर गर्बुजालाई स्वास्थ्यमा सुधार भएपछि अदालतमा उपस्थित गराउन आदेश दिइएको जिल्ला अदालत म्याग्दीका स्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिए।
अदालतले फरार रहेका १९ जना प्रतिवादीहरुको नाममा पक्राउ पुर्जी जारी गरेको छ। जिल्ला सरकारी वकिल कार्यालयको मागदाबी अनुसार, अदालतले सहकारी रजिस्ट्रारको कार्यालयसँग समन्वय गरी १५ दिनभित्र सहकारीलाई पुनः सञ्चालनमा ल्याई अदालतलाई जानकारी गराउन आदेश दिएको छ, अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताए।
जिल्ला सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते एक अर्ब १३ करोड रुपैयाँको बिगो दाबीसहित २५ जनालाई प्रतिवादी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको थियो।
सहकारी रजिस्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूविरुद्ध संगठित रूपमा सहकारीको निक्षेप, शेयर तथा बचत रकम, संस्थाको सम्पत्ति, बाह्य ऋण र नेपाल सरकारको राजस्व समेत हिनामिना गरेको आरोप लगाइएको छ। उनीहरुले सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियमविपरीत कार्य गरेको अभियोग छ।
मुद्दामा सहकारीका वर्तमान र पूर्व सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा समिति र ऋण समितिका संयोजक तथा सदस्यहरूलाई विपक्षी बनाइएको छ। यसअघि माघ २० गते पक्राउ परेका पाँच जना र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरी हिरासतमा थिए। २०६५ सालमा स्थापना भएको र ६ हजार बचतकर्ता रहेको कुमारी सहकारीका सञ्चालकहरूले सहकारीको रकम व्यक्तिगत स्वार्थमा प्रयोग गरेको, ढुकुटी खेलाउने, बोर्डिङ स्कुल र घरजग्गामा लगानी गर्ने गरेको सहकारी रजिस्ट्रारको कार्यालय पोखराको छानबिन र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।