सियरा लियोनका फरवार्ड बुया टुरे काठमाडौँ रेजर्समा आवद्ध

काठमाडौँ, २२ फागुन । सियरा लियोनका फरवार्ड मोहम्मद बुया टुरेले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा काठमाडौँ रेजर्सबाट खेल्ने भएका छन् । पहिलो संस्करणको विजेता काठमाडौँ रेजर्सले बिहिबार ३० वर्षीय स्ट्राइकर टुरेसलाई क्लबमा आवद्ध गरिएको जनाएको छ ।

स्ट्राइकर टुरेसँग स्वीडेन, चिन र अमेरिकामा खेलेको अनुभव छ । काठमाडौँ रेजर्समा भित्रिनुअघि टुरे बर्मिङघम लेजियोनमा आवद्ध थिए । सन् २०१८ मा इथोपियाविरुद्ध खेल्दै अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेका टुरेले सियरा लियोनका लागि १७ खेल खेलेर तीन गोल गरेका छन् ।

काठमाडौँ रेजर्सको विज्ञप्तिमा टुरेले भनेका छन्– नेपालमा आएर काठमाडौँ रेजर्सको जर्सीमा खेल्न उत्त्साहित छु । घर फर्कँदा मेरो झोलामा स्वर्ण पदक लिएर जाने इच्छा छ ।