चितवन क्यान्सर अस्पतालमा उपचारमा समस्या भएको बिरामीको गुनासो, सहज बनाउन आग्रह

चितवन, २३ फागुन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र उनीहरूका आफन्तले उपचार सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन्।

११५औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा यहाँका विभिन्न सामाजिक सङ्घसंस्थाले आयोजना गरेको क्यान्सर प्रभावित बिरामीहरूलाई फलफूल वितरण तथा अन्तरक्रिया कार्यक्रममा बिरामी र उनीहरूका आफन्तले अस्पतालमा उपचार झन्झटिलो भएको गुनासो गरेका हुन्।

आदर्श नारी विकास केन्द्रको अगुवाइमा आयोजना गरिएको कार्यक्रममा कञ्चनपुरबाट बिरामी माइजूलाई उपचारका लागि ल्याउनुभएकी मनमती भट्टले क्यान्सरको उपचार महँगो भएको र उपचार पनि सहज रुपमा पाउन नसकिएको गुनासो गरिन्। “हामीलाई अस्पतालले दिने सुविधाका बारेमा जानकारी छैन। उपचार सहज हुनुपर्यो,” उनले भनिन्। अस्पतालमा उपचारका लागि भर्ना गरिएका बिरामीहरूप्रति स्वास्थ्यकर्मीहरूले गर्ने व्यवहार राम्रो बनाउनुपर्ने उनको भनाइ थियो।

सिरहाबाट आएर विगत चार महिनादेखि उपचार गराउँदै आउनुभएकी राजकुमारी सुनुवार ‘किमो’ लगाउने पालो कुरेर बसेकी छिन्। आइतबार किमो लगाउने पालो भए पनि बिहीबारदेखि नै अस्पतालमा भर्ना भएर बसेकी सुनुवारले किमो नपाएर समस्या भएको गुनासो गरिन्। “बिमाबाट पाउनुपर्ने औषधि पाउन सकिएको छैन। बाहिर किन्दा महँगो पर्छ,” उनले थपिन्। रगत पाउन मुस्किल पर्ने गरेको उनको अनुभव छ।

यस अस्पतालमा नेपालसहित छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि बिरामीहरू आउने गर्दछन्। विगतमा बिरामीले निकै दुःख पाउने गरेको भए पनि पछिल्ला दिनमा केही सहज बन्दै भने गएको छ। यद्यपि स्रोत, साधन र जनशक्तिको अभावमा बिरामीको अपेक्षाअनुसार चाहेजस्तो सेवा दिन कठिन भएको अस्पतालका उपनिर्देशक डा उमेश नेपालले बताए। “धेरै सहज बन्दै गएको छ। सेवाग्राहीले अपेक्षा गरेजस्तो बनाउने प्रयासमा छौँ,” उनले भने।
कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य मायाँ श्रेष्ठ, भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू, क्यान्सर बिजेता बन्दना खाँडलगायतले बालबालिका र महिलाहरूको उपचारमा सहजीकरण गर्न आवश्यक रहेको बताएका थिए।