लिभरपुलको फराकिलो अग्रता

लन्डन, २५ फागुन । लिभरपुल शनिबार राति अन्तिम स्थानमा रहेको साउथाम्पथनलाई ३–१ ले हराएर इङ्गलिस प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । साउथह्याम्टनविरुद्ध ३–१ को पुनरागमन जित दर्ता गरेको छ ।
लिभरपुलको २९ खेलबाट ७० अङक भएको छ । नौ चरण बाँकी रहेको लिगमा लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनलर्लाइ १६ अङ्कले पछाडी पारिसकेको छ । साउथह्याम्टन भने २८ खेलबाट ९ अङकका साथ रेलिगेशन नजिक पुगेको छ ।
पूर्वार्धको इन्जुरी समयमा साउथाम्पटनको विल स्मलबोनको गोलले घरेलु टिम लिभरपुल पछाडी परेको थियो । खेलको ५१ औँ मिनेटमा डार्विन नुनेजले बराबरी गोल गरे । त्यसपछि मोहम्मद सलाहले दुई पेनाल्टीमा दुई गोल गरी लिभरपुललाई जित दिलाए । सलाह सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुटको दौडमा २७ गोलसहित सबभन्दा अगाडी छन् ।
सोही राति नटिङघम फरेस्टले पछिल्ला चार पटकको विजेता म्यान्चेस्टर सिटी, एस्टन भिल्लाले ब्रेन्टफोर्ड तथा क्रिस्टल प्यालेसले इप्सविच टाउनलाई समान १–० ले हराए । ब्राइटनले फुलहमलाई २–१ ले पराजित गर्यो । एभर्टन र वोल्भ्सबिचको खेल भने १–१ले बराबरीमा सकियो ।
एजेन्सी