माथिल्लो मनाङका किसान हिमपातले खुसी, तल्लो क्षेत्रमा छैन हिउँ
मनाङ, २५ फागुन । मनाङका माथिल्लो भेगमा आंशिक हिमपात हुन थालेपछि किसानहरू खुसी भएका छन्।
ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्किएको छ। पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ। तल्लो क्षेत्रमा भने हालसम्म हिउँ परेको छैन।
माथिल्लो क्षेत्रमा हिमपात हुँदा समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी छाएको छ। हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताए। “हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ नपर्दा समस्या हुने गरेको छ, ढिला गरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि केही राहतचाहिँ हुन्छ,” उनले भने।
हिउँ नपरेको बेलामा समेत चिसोले यहाँका खोलानाला, झरना, तालका पानी जम्ने भएकाले सिँचाइमा समस्या हुने गरेको छ। यहाँ पानी मुहानमै जमेर समस्या हुने भएकाले सिँचाइका अन्य विकल्प उपयोग गर्नमा सकस हुने गरेको छ।
किसान सेराप विष्टले मुहानमै पानी जम्ने हुँदा वैकल्पिक तरिकाबाट सिँचाइ गर्न नसकिने बताए। ढिला गरी परेको हिउँले स्याउखेती, तरकारी तथा खाद्यान्न उत्पादनमा सहयोग गर्ने उनले बताए।
हिमालमा हिउँ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ। पहिले कालापत्थर देखिने हिमालमा हिउँ देखेपछि पर्यटक लोभिन थालेका छन्।
जिल्लामा पर्यटक आगमनको याम सुरु भएको छ। दुई याम गरी मनाङमा पर्यटक घुम्न आउने गर्छन्। पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा निस्कन्छन्।