गुरु नानकको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, मङ्सिर ८ । शिख धर्मका संस्थापक तथा प्रथम गुरु गुरु नानकको जन्मजयन्ती आज विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती श्रद्धा र भक्तिपूर्वक मनाउने परम्परा छ। यस अवसरमा देशका विभिन्न स्थानमा रहेका गुरुद्वारामा विशेष पूजापाठ, प्रवचन तथा सामूहिक भोजनलगायत कार्यक्रम आयोजना गरिएका छन्।

गुरु नानकले ईश्वर एक र सर्वशक्तिमान् रहेको तथा सबै मानव समान भएको सन्देश दिनुभएको थियो। उहाँले जातजाति, धर्म र सामाजिक विभेदभन्दा माथि उठेर मानवता, समानता र आपसी सद्भाव कायम गर्नुपर्ने विचार प्रवाह गर्नुभएको थियो।

सन् १४६९ अप्रिल १५ मा हाल पाकिस्तानको पञ्जाब प्रान्तमा पर्ने तलवडीमा जन्मिनुभएका गुरु नानकको जन्मस्थललाई अहिले ननकाना साहिबका नामले चिनिन्छ। उहाँलाई अनुयायीले बाबा नानक र नानकशाहका नामले समेत सम्बोधन गर्छन्।

गुरु नानकद्वारा रचित ‘जपुजी साहिब’ शिख धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थ हो। शिख धर्मावलम्बीले यस ग्रन्थको नियमित पाठ गर्ने गर्छन्। जन्मजयन्तीका अवसरमा गुरुद्वारामा श्रद्धालुलाई सामूहिक भोजन गराउने परम्परासमेत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *