प्रधानमन्त्री ओलीद्वारा धनगढी सभाहल उद्घाटन
धनगढी, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले धनगढी उपमहानगरपालिका–८ मा नवनिर्मित धनगढी सभाहलको आज उद्घाटन गर्नुभएको छ।
उद्घाटन समारोहमा प्रधानमन्त्रीले सभाहल विकासको प्रतीक भएको बताउँदै यसलाई जनताको साझा चिन्तन र मनन गर्ने केन्द्र बनाउन आग्रह गर्नुभयो। उहाँले गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्न सरकारले काम गरिरहेको जानकारी दिनुभयो।
प्रदेश राजधानीको विषयमा प्रधानमन्त्री ओलीले प्रदेश सभाले संविधान अनुसार गर्ने निर्णयमा संघीय सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। यद्यपि, प्रदेश राजधानी तोकिएको कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा हालसम्म कुनै निर्माण कार्य अघि बढेको छैन।
कार्यक्रममा शहरी विकास मन्त्रालयका उपसचिव मदनकाजी महर्जनले सभाहल निर्माणको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सभाहलको अभाव रहेका बेला यो नयाँ सभाहल निर्माण भएको हो।
प्रधानमन्त्री ओलीले आजै उक्त सभाहल धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुभयो। शहरी विकास मन्त्रालयको ३२ करोड रुपैयाँ भन्दा बढीको लागतमा निर्मित यो सभाहलमा ७५३ जना अट्ने क्षमता रहेको छ।