नेपाल रेडक्रस सोसाइटीभित्रका बेथिति र भ्रष्टाचारबारे उजुरी दिन खुला आह्वान

काठमाडौँ, १९ साउन । नेपाल रेडक्रस सोसाइटीले आफ्नो संस्थाभित्र र मातहतका विभिन्न निकायहरूमा भएका अनियमितता, भ्रष्टाचार तथा बेथितिका सम्बन्धमा उजुरी दिन सरोकारवाला र सर्वसाधारणलाई खुला आह्वान गरेको छ । संस्थामा रहेका कमी–कमजोरीहरूको पहिचान गरी सुधार गर्ने उद्देश्यले रेडक्रसले आज पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो ।

सोसाइटीद्वारा गठित ‘उजुरी तथा गुनासो अध्ययन छानबिन समिति’ ले आगामी भदौ ३ गतेसम्म तथ्य र प्रमाणसहित उजुरी पठाउन समय सीमा तोकेको छ । समितिका संयोजक डा. दीपेश घिमिरेले रेडक्रसको गुमेको साख फर्काउन र संस्थालाई पूर्ण रूपमा पारदर्शी एवं सुशासनयुक्त बनाउन यो प्रक्रिया सुरु गरिएको बताउनुभयो ।

संयोजक घिमिरेका अनुसार यसअघि दिइएको ३५ दिनको म्याद सकिएपछि थप २० दिनको समय थप गरिएको हो । उहाँले भन्नुभयो, “हामी संस्थाभित्रका हरेक तहमा भएका अनियमितताको गम्भीर छानबिन गर्न चाहन्छौँ । त्यसैले सरोकारवाला सबैलाई आफ्नो जानकारीमा भएका बेथितिबारे सूचना उपलब्ध गराउन आग्रह गर्दछौँ ।”

समितिले उजुरीकर्ताको पहिचान पूर्ण रूपमा गोप्य राखिने र सुरक्षाको प्रत्याभूति दिइने प्रस्ट पारेको छ । उजुरीका लागि विभिन्न माध्यमहरू तोकिएका छन्:
इमेल: gunaso@nrcs.org
निःशुल्क हटलाइन नम्बर: ११३०
ह्वाट्सएप नम्बर: ९७४१६९५०९७
समितिले प्राप्त हुने सबै सूचना र उजुरीहरूलाई निष्पक्ष, स्वतन्त्र र व्यावसायिक ढङ्गले व्यवस्थापन गरी दोषीमाथि कारबाहीका लागि सिफारिस गर्ने प्रतिबद्धता जनाएको छ । पछिल्लो समय नेपाल रेडक्रस सोसाइटीमा विभिन्न आर्थिक तथा प्रशासनिक अनियमितताका कुराहरू उठिरहेका बेला वर्तमान नेतृत्वले शुद्धीकरणको यो प्रयास थालेको हो ।