लैङ्गिकमैत्री सहर निर्माणका लागि महानगरपालिकाको लैङ्गिक उत्तरदायी नीति: उपप्रमुख डंगोल

काठमाडौं, २८ फागुन । काठमाडौँ महानगरपालिकाले लैङ्गिकमैत्री सहर निर्माणका लागि लैङ्गिक उत्तरदायी नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्ने गरेको छ।

उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले गठन तथा सञ्चालन गरेको ‘महिला सञ्जाल’ र विपन्नका लागि कानुन व्यवसायीबाट प्रदान गरिने ‘निःशुल्क सेवा’ महत्वपूर्ण काम भएको बताउनुभएको छ।

एशियन वुमेन लिडर्स फोरम (एडब्लुएलएफ) का संस्थापक अध्यक्ष एआइ सासाकीसँगको भेटमा उपप्रमुख डंगोलले समतामूलक समाज निर्माण गर्ने, महिलाहरुको नेतृत्व विकास गर्ने कार्यक्रमको थालनी तल्लो तहमा रहेका महिलाहरुलाई लक्षित वर्गमा राखेर काम गर्ने गरिएको जानकारी दिनुभयो। महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको उहाँको भनाइ छ।

डंगोलले लैङ्गिक उत्तरदायी सहर निर्माण, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरण, उद्यमशीलताबाट महिलाहरुको आर्थिक सशक्तिकरण र नेतृत्व विकास, महिलाको हक स्थापित, समतामूलक समाज निर्माणका लागि महानगरपालिकाले स्थानीय कानुन तर्जुमा गरेको, कानुन कार्यान्वयन गर्न कार्यविधि जारी गरिएको र वार्षिक बजेट, नीति र कार्यक्रममा यस क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो।

महिलाको नेतृत्वमा वडा महिला सञ्जालले काम गरिरहेको र यसले महिलाहरुको आर्थिक सशक्तिकरणसँगै व्यक्तित्व र नेतृत्व विकासमा सहयोग पुर्‍याएको डंगोलले बताउनुभयो।
छलफलमा अध्यक्ष सासाकीले काठमाडौँ महानगरपालिकाले थालेका प्रयासहरु दक्षिण एशियाली मुलुकहरुका महिला नेतृत्व विकासका लागि प्रेरणादायी रहेको उल्लेख गर्नुभयो। फोरमले सन् २०३० सम्ममा १ हजार महिलालाई नेतृत्वमा पुर्‍याउने लक्ष्य राखेको र यसका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्वबाट धेरैलाई प्रेरणा मिल्ने उहाँको विश्वास छ।