बार्सिलोना, पिएसजी, इन्टर र म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
लन्डन, २८ फागुन । इङ्गलिस प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको लिभरपुल बुधबार च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलबाट विदा भएको छ ।
फ्रान्सको पेरिस सेन्ट जर्मन (पिएसजी)ले अन्तिम १६ को दोस्रो लेगमा लिभरपुललाई टाइब्रेकरमा ४–१ ले हरायो । फ्रान्समा पहिलो लेगमा वेहोरेको १–० को हारलाई उल्ट्याउँदै पिएसजीले एनफिल्डमा भएको दोस्रो लेगको निर्धारीत समय १–० ले आप्mनो पक्षमा पारेपछि खेल टाइब्रेकरमा गएको हो ।
पेनाल्टी सुटआउटमाडार्विन नुनेज र कर्टिस जोन्सका प्रहार पिएसजीका गोलरक्षक जियानलुइजी डोनारुमाले विफल पारे । पिएसजीबाट प्रहार भएका सबै पेनाल्टी गोलमा परिणत भएको थियो । यसैगरी निधारीत समयको ११ औँ मिनेटमा ओसमान डेम्बेलेको गोलबाट पिएसजीले लिभरपुललाई निराश बनाएको हो ।
अन्य खेलबाट स्पेनको बार्सिलोना, जर्मनीको बायर्न म्युनिख र इटालीको इन्टर मिलान पनि अन्तिम आठमा पुगे । बार्सिलोनाले दोस्रो लेगमा बेन्फिकालाई ३–१ ले हरायो । बार्सिलोना समग्रमा ४–१ ले विजयी भयो । दोस्रो लेगमा बार्सिलोनाका लागि राफिन्हाले दुई तथा लामिने यमालले एक गोल गरे । बेन्फिकाका निकोलस ओटामेन्डीले गरेको गोल सान्त्वना मात्र बन्यो ।
यसैगरी बायर्न म्युनिखले जर्मनीकै बायर लिभरकुसेनलाई दोस्रो लेगमा २–० ले हरायो । पहिलो लेगमा पनि बायर्न म्युनिखले लिभरकुसेनविरुद्ध ३–० ले जित प्राप्त गरेको थियो । दोस्रो लेगमा ह्यारी केन र अल्फोन्सो डेभिसले गोल गरेपछि लिभरकुसेन खेलमा फर्किन सकेन । चालू च्याम्पियन्स लिगमा केनको यो दशौँ गोल हो ।
यसैगरी इन्टर मिलानले फेयनउडलाई दोस्रो लेगमा २–१ ले पहरार समग्रमा ४–१ को जितसहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनायो । इन्टर मिलानकालागि मार्कस थुराम र हाकन चाल्हानोग्लुले गोल गरे । फेयनउडका लागि ज्याकोब मोडरले गोल गरे । हाकन र मोडरले पेनाल्टीमा गोल गरेका हुन् । एजेन्सी