नेपाल नामिबियासँग फेरि पराजित
काठमाडौँ, २८ फागुन । वुमेन्स डे चारदेशी टि२० अन्तराष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले तेस्रो हार वेहोरेको छ । नेपाल बुधबार नामिबियासँग २३ रनले पराजित भएको छ । नेपाल पहिलो खेलमा पनि नामिबियासँग नामिबियासँग अन्तिम बलमा पराजित भएको थियो । यसैगरी नेपाल हङकङसँग दुई रनले हार्यो । नेपालले युगान्डालाई भने हराएको थियो । नेपालले बिहिबार हङकङसँग खेल्नेछ ।
युगान्डास्थित इन्टेबी क्रिकेट ओभलमा पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारीत २० ओभरमा आठ विकेटको क्षतिमा १२५ रन बनाएको थियो । नामिबियाका लागि यास्मिन खानले पाँच चौकासहित सर्वाधिक ४५ रन बनाइन् । नेपालकी तेज बलर इश्वरी विष्टले चार ओभरमा ४० रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । यसैगरी रचना चौधरीले दुई तथा इन्दु र रिय शर्मले एक–एक विकेट प्राप्त गरे ।
नेपालले लक्ष्य पछ्याउने क्रममा निर्धारीत २० ओभरमा पाँच विकेटको क्षतिमा १०२ रन मात्र बनाउनसक्यो । प्रारम्भिक ब्याटर सना प्रवीणले ३७ बलमा एक चौकासहित सर्वाधिक ३१ रन बनाइन् । पूजा महतोले (१४ बलमा १५ रन र कप्तान इन्दु वर्माले १५ बलमा १५ रन)को पालि खेले । कविता जोशी १९ बलमा १७ र ममता चौधरी १२ बलमा आठ रन बनाएर अविजित रहे । नामिबियाका लागि इभलिन केजारुकुवाले सर्वाधिक दुई विकेट लिइन् ।