समाधानतर्फ एनओसी विवाद
काठमाडौँ, २९ फागुन ।
ओलम्पिकको इतिहास सम्झने हो भने यसका लामो कालखण्ड विश्व राजनीतिबाट प्रभावित रहेको छ । विश्व राजनीतिबाट प्रभावित भई धेरै पटक ओलम्पिक खेलकुद बहिष्कार भए । नेपाल खेलकुदको आकाशमा अहिले समान विवाद नभएपनि नेपाल ओलम्पिक कमिटी (एनओसी)को विवादको प्रदुषण छाएको छ ।
गत महिना आइओसीकै रोहबरमा विधान संशोधन गर्दै अनलाइनमार्फत् गरिएको चुनावमा जीवनराम श्रेष्ठ तेस्रो पटक अध्यक्ष बनेका थिए । यसअघि एनओसीले चुनावअघि विशेष साधारण सभा गर्दे विधान संशोधन गरेको विवाद पनि थियो ।
एनओसीको सदस्यता नपाएको भन्दै नेपाल मोर्डन पेन्ट्राथलन संघ, नेपाल इक्वेस्ट्रियन संघ, नेपाल रग्बी संघ, नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघ र नेपाल बेसबल तथा सफ्ट बल संघले साधारणसभा रोकिपाउँ भन्दै अदालतमा मुद्दा दायर गरेका थिए । अदालतमा मुद्दा परेको कारण देखाउँदै ले पनि एनओसी निर्वाचनलाई अवैधानिक भन्दै मान्यता दिएको थिएन । आइओसीले समेत नेपालभित्रको कानुनी समस्या सुल्झाउनका लागि एनओसीलाई दबाब दिँदै आएको थियो । आन्तरिक किचलोले आइओसीले साधारणसभालाई आधिकारिक रुपमा बैधानिकता दिन ढिलाई गरिरहेको थियो । एनओसी अध्यक्ष श्रेष्ठले भने यो निर्वाचन ओसिएकै रोहबरमा भएको दाबी गर्दै आएका थिए ।
अहिले भने एनओसीको विवाद समाधानतर्फ अग्रसर भएको संकेत देखिएको छ । हुनत गत महिना नै चिनको हर्बिनमा सम्पन्न शीतकालीन एसियाली खेलकुदमा नवनिर्वाचत एनओसी अध्यक्ष श्रेष्ठ र महासचिव राजीव श्रेष्ठलाई प्रतिनिधिको रुपमा बोलाएर आइओसी र ओसिएसले विवादित चुनावी साधारणसभालाई मान्यता दिएको संकेत गरिसकेको थियो । दुई दिनअघि कुवेतस्थित ओसिएको केन्द्रिय कार्यालयमा एनओसीविरुद्ध मुद्दा हाल्ने नेपालका पाँच संघले मुद्दा फिर्ता लिने सहमति गरेपछि अब एनओसीको विवाद समाधान हुनेमा थप बल पुगेको छ ।
ओसिएको मुख्यालमा भएको दुई बुँदे सहमतिअनुसार नेपाल ओलम्पिक कमिटी र (एनओसी) ले नेपाल रग्बी संघ, नेपाल घोडचढी संघ, नेपाल बेसबल तथा सफ्ट बल संघ, नेपाल स्केटिङ संघ र नेपाल पेन्टाथोलन संघलाइ १५ दिनभित्र पूर्ण सदस्यता दिने भएको छ । सो सहमतिमा एनओसीले नेपाल रग्बी संघ, नेपाल घोडचढी संघ, नेपाल बेसबल तथा सफ्टबल संघ, नेपाल स्केटिङ संघ र नेपाल पेन्टाथोलन संघलाई अबको १५ दिन दिनभित्र विशेष साधारण सभा बोलाएर सदस्यता दिने भएको हो । यसैगरी पाँच संघले एनओसीविरुद्ध अदालतमा दायर भएको सम्पूर्ण मुद्दा पनि बिनाशर्त फिर्ता लिने सहमति भएको छ । ओसिएका महानिर्देशकको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा एनओसीको तर्फबाट अध्यक्ष श्रेष्ठ, मोर्डन पेन्ट्राथलन संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, इक्विेस्ट्रियन संघका अध्यक्ष रवि राजकर्णीकार, रग्बी संघका अध्यक्ष दीपक देवकोटा, स्केटिङ तथा स्केट बोर्डिङ संघका अध्यक्ष अच्युत खनाल, बेसबल तथा सफ्ट बल संघका अध्यक्ष दीपक न्यौपाने र एनओसीका पूर्व महासचिव एवं नेपाल ट्रयाथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठको पनि उपस्थिती थियो ।
यही सम्झौताले अब एनओसीको विवादले निकासा पाउने अपेक्षा गरिएको छ ।