सभामुख घिमिरेद्वारा चीनसँगको सहकार्यलाई थप प्रगाढ बनाउन आह्वान

काठमाडौं, २ चैत । सभामुख देवराज घिमिरेले नेपालको विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनुभएका छन्।

फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले आयोजना गरेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्य’ विषयक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले नेपालले चीनको विकासबाट लाभ लिन चाहेको बताउनुभयाे। “नेपालको विकास प्रयासमा चीनको सहयोगको हामी उच्च प्रशंसा गर्दछौं,” उहाँले भन्नुभयाे।

सभामुख घिमिरेले नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने क्रममा रहेको र यसका लागि चीनबाट महत्वपूर्ण सहयोगको अपेक्षा गरिएको बताउनुभयाे । उहाँले नेपाल र चीनबीचको सम्बन्ध आपसी विश्वासमा आधारित रहेको र बिआरआईले यसलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयाे।

कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआई विश्वव्यापी विकास परियोजना भएको बताउनुभयाे। नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपालको विकास प्रयासमा चीन सधैं सकारात्मक रहेको बताउनुभयाे।