मुस्ताङमा निर्माण व्यवसायीको लापरवाही: घरपझोङ रिङरोड सडकको कालोपत्र गुणस्तरहीन

मुस्ताङ,३ चैत । घरपझोङ गाउँपालिकाका पाँचवटै वडालाई जोड्ने रिङरोड सडकको कालोपत्र निर्माणमा ठेकेदार कम्पनीले लापरबाही गरेको पाइएको छ।

जोमसोम-ठिनी सडक खण्डमा गरिएको कालोपत्र गुणस्तरहीन भएको भन्दै स्थानीयले गुनासो गरेपछि घरपझोङ-५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयसँग स्पष्टीकरण मागेको छ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय मुस्ताङले ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजना अन्तर्गत बन्दना भगवती जेभीसँग २०७६ कात्तिक २१ गते २१ करोड ४३ लाख रुपैयाँमा यो सडक निर्माणको ठेक्का सम्झौता गरेको थियो। सम्झौता अनुसार १० किलोमिटर रिङरोड सडकमा नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५.५ किलोमिटर सडक कालोपत्र गर्ने योजना थियो।

सडकको नाली निर्माणसहित ८ मिटर चौडा बनाइने र जोमसोम-ठिनी-ढुम्बा खण्डमा ५ किलोमिटर प्रिमिक्स कालोपत्र गर्ने उल्लेख थियो। तर, २०७७ माघमा सम्पन्न हुनुपर्ने यो सडकको म्याद पाँच पटकभन्दा धेरै थप भइसकेको छ।

यो आयोजना जीर्ण अवस्थामा पुगेको छ र निर्माण कम्पनीको ढिलासुस्तीका कारण रिङरोड सडक निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन। पूर्वाधार विकास कार्यालयले बारम्बार ताकेता गरेपछि निर्माण कम्पनीले गत मंसिरमा जोमसोम-ठिनी सडकको ३ किलोमिटर खण्डमा कालोपत्र गरेको थियो। तर, अहिले उक्त कालोपत्र कमसल र उप्किएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरिरहेका छन्।

प्राविधिक अनुगमनको कमीका कारण कालोपत्र गुणस्तरहीन भएको स्थानीयको आरोप छ। मंसिरमा ३ किलोमिटर कालोपत्र गरेपछि चिसो बढेको भन्दै निर्माण कम्पनीले काम स्थगित गरेको थियो, र तीन महिना बितिसक्दा पनि काम सुरु भएको छैन।

यसैबीच, घरपझोङ-५ ठिनीको वडा कार्यालयले गत मंसिर २१ गते पूर्वाधार विकास कार्यालयसँग कालोपत्रको गुणस्तरबारे स्पष्टीकरण माग गरेको छ। वडाध्यक्ष प्रदीप थकालीले हस्ताक्षर गरेको पत्रमा कालोपत्र गुणस्तरहीन र कमजोर भएको उल्लेख छ। साथै, सडकको गुणस्तर कसरी कायम गर्न सकिन्छ भन्ने विषयमा जवाफ मागिएको छ।

पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर घनश्याम रोक्का मगरले जोमसोम-ठिनी सडकमा समस्या देखिएमा समाधान गर्न सकिने बताएका छन्। उनले वडा कार्यालयको पत्रको जवाफ पठाइसकेको जानकारी दिए। प्राविधिक अध्ययनमा त्रुटि देखिएमा कालोपत्र पुन: गर्न लगाइने उनको भनाइ छ।

इन्जिनियर रोक्का मगरले ठेकेदारले अनुकूल समयमा कालोपत्र नगरेको स्वीकार गरेका छन्। तापक्रम नपुगेका कारण पनि समस्या आएको हुनसक्ने उनको अनुमान छ।

पूर्वाधार विकास कार्यालयका अनुसार ६ वर्षमा घरपझोङ रिङरोड सडकको भौतिक प्रगति ७६ प्रतिशत मात्रै पूरा भएको छ। सडक संरचना, नाली निर्माण र फिनिसिङको काम अझै बाँकी छ। रिङरोड बनेपछि ठिनी, ढुम्बा, सम्ले, छैरो र चिमाङलगायतका गाउँमा कृषि उपजको बजारीकरणमा सहज हुने अपेक्षा गरिएको छ।