आधुनिकताको प्रभावमा रानाथारू समुदायको लोप हुँदै परम्परागत गहना

कञ्चनपुर, ४ चैत । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ कसरौलकी ५५ वर्षीया सवदा रानालाई परम्परागत गहना र पहिरनमा सजिएर होली खेलेको दिन अझै याद छ। घघँरिया, अँगिया, फतुई, उढनीया जस्ता हातले बुनेका पहिरन लगाएर नाचेको स्मरण गर्दै उनले शिरदेखि पाउसम्म ढाकिने गहना लगाउने चलन हराउँदै गएको बताइन्।

उनका अनुसार, महिलाहरूले कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीको पैसाले बेरेको कालो धागो, कठुला, हसुला, सकरगरेला लगाउँथे। पाखुरामा लगौरा, नाडीमा पहुँची, औँलामा औंँठी, कम्मरमा सिक्रीवाला कैँधनी, पैतलामाथि ढुन्नी, ढुन्नीको तल पैँडा र पायल लगाउने चलन थियो। गर्धनमा कण्ठ, गरिया र घिच्ची लगाइन्थ्यो।

“उढनिया, हार, कण्ठसिरीमाला, फतुई, घँघरिया र पैणा लगाएको महिलालाई समाजमा उच्च सम्मान गरिन्थ्यो”, उनले भनिन्, “त्यस्ता पहिरन र गहना लगाउने महिलालाई सभ्य मानिन्थ्यो।” तर, अहिले ती गहना थोरै महिलासँग मात्र छन्। आधुनिक गहनाको चलनले पुराना गहनाको महत्त्व घट्दै गएको उनको बुझाइ छ।

पुराना गहना बनाउने कारिगर पाउन पनि मुस्किल छ। रानाथारू समुदायका पुरूषले झगिया, फेटा र हातमा बिल्ला लिएर होली खेल्ने गर्थे। पुरूषले लगाउने पुरानो पहिरन हराउँदै गएको रामदास रानाले बताए। “जनचेतनाका कारण महिलाका पहिरन जोगिएका छन्, तर पहिरनमा आधुनिकताको छाप परेको छ,” उनले भने।

रानाथारू समुदायले माघ शुक्ल पूर्णिमादेखि होलीको प्रारम्भ गर्छन्। यसबेला मथुराबाट होलीलाई बोलाउने गरिन्छ। त्यसपछि एक महिनासम्म महिला-पुरूषले भगवान्का कथालाई होली गीतमा ढाल्दै गाउँछन्। फागुन शुक्ल पूर्णिमामा होलिका दहन गरिन्छ। त्यसको भोलिपल्ट खरानीको टीका लगाएपछि होली सुरु हुन्छ, जुन आठ दिनसम्म चल्छ।

अन्तिम दिन खखडेहरा खेलिन्छ, जहाँ गाउँका अगुवाहरूले खप्टा, घल्ला, घोडाको माटोका प्रतिमालाई फोड्छन्। यसले दुष्ट आत्मा गाउँमा प्रवेश नगर्ने विश्वास छ। पुरूषको होली सकिए पनि महिलाको होली चैत चराईमा पठाइन्छ। होलीमा गीतको सुरूवात गर्ने महिलालाई मोढी र सिको गर्दै गाउनेलाई पिछडिया भनिन्छ। ढोलक बनाउनेलाई ढोलिया भनिन्छ। पुराना होलीका गीत लिपिबद्ध नहुँदा हराउँदै गएकोमा बुढापाका चिन्तित छन्। होलीमा सगुनका रूपमा गुड भेली दिने र फगुवाका रूपमा पैसा दिने चलन पनि छ।