बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामीको संख्या बढ्यो
बैतडी, ६ चैत । बैतडी जिल्लामा मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीहरुको संख्या बढ्न थालेको छ। अस्पताल र स्वास्थ्य संस्थाहरुमा आउने बिरामीहरुमध्ये अधिकांश भाइरल ज्वरोका रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तका अनुसार सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेका छन्। “अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिन थालेको छ। मौसम परिवर्तनका कारण भाइरल ज्वरोका बिरामी बढेका हुनसक्छ। यो मौसममा हावाहुरी, धुलोधुवाले गर्दा पनि सङ्क्रमण बढ्छ,” उनले भने। उनका अनुसार जिल्लाको तल्लोसोराड क्षेत्रस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पनि भाइरल ज्वरोका बिरामीहरु बढेका छन्।
श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटका अनुसार अन्य समयको तुलनामा आजभोलि भाइरल ज्वरोका बिरामी बढेका छन्। “स्वास्थ्यचौकीमा दैनिक २० जनाभन्दा बढी बिरामी ज्वरोका हुने गर्दछन्,” उनले भने। मौसम परिवर्तनका साथसाथै अस्वस्थकर खानपान र प्रदूषित पानीले भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा सुशील विकले बताए।
ज्वरो आएमा अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले नजिकैको स्वास्थ्य संस्थामा जाँच गराउन उनले सबैलाई आग्रह गरेका छन्। ज्वरो आएमा आफूखुसी मेडिकलबाट औषधि किनेर नखान स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन्।