विपद् र दुर्घटनामा ज्यान गुमाएकाको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ हुने

पितृमुक्ति महायज्ञ

काठमाडौँ, मंसिर १२ । भोटेकोशी बाढीलगायत प्राकृतिक विपद्, दुर्घटना तथा महामारीमा परी अकालमा ज्यान गुमाएकाको स्मृति र दिवङ्गत आत्माको शान्तिको कामना गर्दै नवलपुरको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा विशेष पितृमुक्ति महायज्ञ आयोजना हुने भएको छ ।

मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सङ्कल्पमा मङ्सिर १ गतेदेखि सञ्चालन भइरहेको अष्टाचल धनधान्याञ्चल विराट महायज्ञअन्तर्गत मङ्सिर २० गतेदेखि तीन दिनसम्म पितृमुक्ति महायज्ञ गर्न लागिएको हो ।

महायज्ञमा दिवङ्गत आत्माको उद्धार, मुक्ति, शान्ति र सद्गतिको कामनासहित वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजन तथा विशेष धान्याञ्चल अनुष्ठान गरिने मुक्तिनाथबाबाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुष्ठानअन्तर्गत सामूहिक पितृप्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृको तर्पण तथा नारायणबलिलगायत धार्मिक कार्य गरिनेछ ।

गत भदौमा भोटेकोशीमा आएको बाढीले ठूलो मानवीय पीडा दिएको उल्लेख गर्दै मुक्तिनाथबाबाले अन्य प्राकृतिक विपद् र महामारीका कारण पनि धेरै नेपालीले अकालमा ज्यान गुमाउनुपरेको बताउनुभयो । दिवङ्गत सबै आत्माको मुक्ति, शान्ति र सद्गतिको कामनासहित विराट महायज्ञमा विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरिएको उहाँको भनाइ छ ।

महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यका अनुसार सामूहिक रूपमा सञ्चालन हुने अनुष्ठानमा दिवङ्गतका आफन्तले कर्ताका रूपमा सहभागी भएर धार्मिक विधिअनुसार कर्म गर्न सक्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि दिवङ्गत पितृको नाम, गोत्र र तस्बिर उपलब्ध गराउन सकिने उहाँले जानकारी दिनुभयो ।

यसअघि विराट महायज्ञ सुरु हुनुअघि कात्तिक ८ गते मुक्तिनाथबाट राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु भएको थियो । देशका प्रमुख धार्मिकस्थलको परिक्रमा गर्दै उक्त रथयात्रा त्रिवेणीधाम आइपुगेपछि मङ्सिर १ गतेदेखि महायज्ञ सञ्चालन भइरहेको हो ।

मुक्तिनाथबाबाका अनुसार विराट महायज्ञ धार्मिक अनुष्ठानमा मात्र सीमित नभई नेपालमा वैदिक विश्वविद्यालय स्थापना, वैदिक सभ्यता र ज्ञानको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यसँग पनि जोडिएको छ । साथै, नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार गरी मुलुकलाई वैदिक ज्ञान र धार्मिक पर्यटनको अन्तरराष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *