सरकार महङ्गी नियन्त्रण गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री ओली
काठमाडौँ, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले महङ्गी नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आम नागरिकको दैनिक जीवनसँग जोडिएका उपभोग्य एवं प्रयोगमा आउने सामग्रीको सहज र सुलभ आपूर्ति व्यवस्थापनका लागि बजार अनुगमनलाई नियमित रूपमा सञ्चालन गरिएको बताउनुुभयो ।
प्रधानमन्त्री ओलीले दुुर्गम क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्तिको व्यवस्था मिलाइएको जानकारी दिँदै भन्नुभयो, “बजारमा कृत्रिम अभाव सृजना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समितिलाई सक्रिय बनाइएको छ । यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुर्याएको छ । उपभोक्ता अधिकारको संरक्षण एवं न्यायिक निरूपणका लागि भर्खरै उपभोक्ता अदालत स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।”
“चालु आर्थिक वर्षको सात महिनामा औसत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ जबकि, अघिल्लो वर्षको सोही अवधिमा मुद्रास्फीति ५.०१ प्रतिशत थियो”, उहाँले भन्नुभयो, “चालु आवका लागि सजगतापूर्ण ढङ्गले लचिलो मौद्रिक नीतिमार्फत मुद्रास्फीति घटाउने कार्यदिशालाई निरन्तरता दिइएको छ ।”
सरकारले अनिवार्य नगद अनुपात र बैङ्क दरलाई समायोजन गरिएको जानकारी दिँदै उहाँले अत्यावश्यक वस्तुहरूको भन्सार दर घटाउने तथा महङ्गीमा प्रत्यक्ष असर गर्ने वस्तुहरूमा कर छुट प्रदान गर्ने नीतिलाई सरकारले निरन्तरता दिने बताउनुभयो ।