कृषि आधुनिकीकरणबाट खाद्यान्न आयात रोक्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्न आयातलाई पूर्ण रूपमा रोक्नका लागि कृषि क्षेत्रको आधुनिकीकरण अपरिहार्य रहेको बताउनुभएकाे छ ।

आज काठमाडौंमा आयोजित दक्षिण एसियाली किसान सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो धारणा राख्नुभएकाे हाे ।

उहाँले ६० प्रतिशत जनता कृषिमा संलग्न भए पनि परम्परागत खेती प्रणालीका कारण खाद्यान्नमा आत्मनिर्भर बन्न नसकेको र निर्यात गर्न सक्ने अवस्था नआएको बताउनुभयाे ।

प्रधानमन्त्री ओलीले युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न र साना तथा घरेलु उद्योगमार्फत आधुनिक कृषिको विकास गरी मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयाे ।

सम्मेलनमा दक्षिण एसियाका विभिन्न देशका २५ भन्दा बढी किसान संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियाे। दुई दिनसम्म चल्ने यस सम्मेलनमा दक्षिण एसियाली किसानहरूका समस्या र त्यसको समाधानका उपायहरू बारेमा छलफल हुने बताइएको छ।