सिङगापुरविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौ, ८ चैत । नेपालले शुक्रबार अन्तर्राष्ट्रिय मैत्री खेलमा सिङगापुरलाई उसकै मैदानमा १–० ले स्तब्ध पारेको छ । यस नतिजासँगै अस्ट्रेलियाली प्रशिक्षक म्याट रोसले पनि नेपाली फुटबल टिमबाट विजयी सुरुआत गरेका छन् ।
जिलेस्पी जङग कार्कीले गरेको गोल निर्णायक बनेपछि नेपालले ऐतिहासिक जित हात पारेको हो । नेपालले सिङगापुरलाई हराएको पनि यो पहिलो पटक हो । नेपाल र सिंगापुर बिचको यो पाँचौ भिडन्त हो । यसअघिको चार भेटमा मध्ये तीनमा सिङगापुर विजयी बनेको थियो । यसैगरी नेपाल र सिङगापूरबीच ३६ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल भएको हो । पछिल्लो पटक सन् १९८९ मा भएको विश्वकप छनोटमा नेपालले सिंगापुरविरुद्ध दुई लेगको खेल खेलेको थियो । सो समय नेपाल ३–० र ५–० ले पराजित भएको थियो । सन् १९८२ मा किङ्स कपमा सिङगापुरसँग नेपाल २–० ले हारेको थियो । सन् १९८६ मा नेपालले घरेलु मैदानमा भने सिङगापुरलाई गोलरहित बराबरीमा रोकेका थियो ।
सिङगापुर राष्ट्रिय रङ्गशालामा भएको खेलको १२ औँ मिनेटमा मिडफिल्डर मनिष डाँगीले दिएको पासलाई डिबक्सभित्र रहेका जिलेस्पीले सदुपयोग गर्दै गोल गरेका हुन् । जिलेस्पीको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो । यसैगरी जिलेस्पीले लगातार दोस्रो अन्तर्राष्ट्रिय खेलमा गोल गरेको हो । नेपालको पछिल्लो अन्तर्राष्ट्रिय खेलमा जिलेस्पीले अफगानिस्तानविरुद्ध गोल गरेका थिए ।
सो खेलमा नेपालका नयाँ प्रशिक्षक रोसले १७ वर्षीय सुभास बम ठकुरीलाई अन्तर्राष्ट्रिय फुटबलमा पदार्पणको अवसर दिएका छन् ।
नेपालले अब एएफसी एसियन कपको छनोट प्रतियोगताअन्तर्गत चैत १२ गते मलेसियाविरुद्ध खेल्नेछ । एसियन कप छनोटको समूह एफमा नेपाल मलेसिया, भियतनाम र लाओस रहेका छन् । नेपालले मलेसियाविरुद्धको खेलको तयारी गर्न सिङगापुरसँग खेलेको हो ।