अस्ट्रेलियाका स्टुअर्ट ल नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक
काठमाडौँ, १६ चैत ।
अस्ट्रेलियाका स्टुअर्ट ल नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ क्यानका अनुसार प्रशिक्षक लको कार्यकाल दुइ वर्षको हुनेछ ।
क्यानले भैरहवामा शुक्रबार बसेको कार्यमिति बैठकले ल लाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी प्रेस विज्ञप्तीमार्फत दिएको छ । नेपालका प्रमुख प्रशिक्षक बन्न ७० जनाले आवेदन दिएका थिए । जसमध्ये दस जनासँग अन्तर्वार्ता लिइएको थियो । सोही प्रक्रियामार्फत् ५६ वर्षीय ल नेपाली क्रिकेट टिमको प्रशिक्षक बने ।
प्रशिक्षक लसँग श्रीलङका, बङगलादेश, वेष्ट इन्डिज, अफगानिस्तान र अमेरिकाको प्रमुख प्रशिक्षक भएर काम गरेको अनुभव छ । लको पछिल्लो जिम्मेवारी अमेरिकाको प्रमुख प्रशिक्षकको थियो । यसैगरी उनले एक खेलाडीको रुपमा अस्ट्रेलियालका लागि ५४ एकदिवसीय अन्तर्राष्ट्रिय र एक टेस्ट खेलेका छन् । सन् १९९६ को विश्वकपमा अष्ट्रेलिया उपविजेता हुँदा ल पनि टिममा थिए ।
यसैगरी क्यानले सन् २०२५ मेमा हुने विश्वकपको एसियन छनोट प्रतियोगितासम्मको लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको कन्सलट्यान्ट प्रशिक्षकमा भारतीय प्रशिक्षक मनिष झालाई नियुक्त गरेको छ ।