नेपालमा लगानी गर्न थाई लगानीकर्ता उत्साहित

काठमाडाैं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानपछि थाइल्याण्डका व्यवसायीले नेपालमा पर्यटन, होटल, निर्माणजन्य कच्चापदार्थ जस्ता क्षेत्रमा लगानी गर्न उत्साहित देखाएका छन् ।

प्रधानमन्त्री ओलीसँग छलफलका क्रममा थाई व्यवसायीहरूले नेपालमा लगानीका सम्भावना, अवसर र सहकार्यका विषयमा चासो राखेका हुन् । सो अवसरमा व्यवसायीहरूले लगानी गर्न कानुनी सहजता र लगानीपछिको मुनाफा फिर्ता लैजाने प्रबन्धलगायतका विषयमा चासो राख्नुभएको थियो । नेपालमा विदेशी मुद्राको सहजता र ‘रिजर्भ’बारे पनि उहाँहरुको जिज्ञासा थियो ।

छलफलका क्रममा नेपाली उद्योगी–व्यवसायीहरूको प्रतिनिधिमूलक टोलीले लगानीका लागि प्रचुर सम्भावना रहेकाले नेपालमा लगानी गर्न थाई व्यवसायी तथा लगानीकर्तासँग अनुरोध गर्नुभएको थियो । छलफलमा सहभागी प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहाकार डा युवराज खतिवडाले लगानीका विविध आयामका विषयमा छलफल भएको र लगानी मात्रै नभई भावनात्मक रुपमै सहकार्य गर्न नेपाल तयार रहेको सन्देश थाई उद्योगी–व्यापारीसहित लगानीकर्ताहरुलाई प्रधानमन्त्री ओलीले बताउनुभएको जानकारी दिनुभयो ।

निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । डा खतिवडाका अनुसार थाई व्यवसायीहरूले नेपालमा लगानी गर्न इच्छा र तत्परता देखाउनुभएको छ ।

छलफलबारे जानकारी दिँदै डा खतिवडाले भन्नुभयो, “निर्माणजन्य उद्योग, होटल व्यवसाय, खाद्य प्रशोधन, पर्यटनसँग सम्बन्धित लगानीकर्ताहरु छलफलमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले नेपालमा लगानी गर्न आतुर रहेको बताउनुभयो । त्यसका लागि उपयुक्त साझेदारको खोजी गर्छौं भनी लगानी गर्न तत्परता देखाउनुभएको छ ।”