झापामा ६९६ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि : बिर्तामोड सबैभन्दा बढी प्रभावित
काठमाडौँ, साउन १८ । झापा जिल्लामा पछिल्लो एक वर्षमा स्क्रब टाइफसको सङ्क्रमण तीव्र रूपमा फैलिएको पाइएको छ । आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा यो सङ्क्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालका अनुसार सङ्क्रमितमध्ये सबैभन्दा ठूलो सङ्ख्या बिर्तामोड नगरपालिकामा रहेको छ । त्यहाँ ५९८ जनामा सङ्क्रमण देखिएको छ । तथ्याङ्कअनुसार दमक नगरपालिकामा ४३, मेचीनगरमा २५, कमल गाउँपालिकामा १६ र कन्काई नगरपालिकामा ६ जना सङ्क्रमित फेला परेका छन् ।
यसैगरी, हल्दिबारी गाउँपालिकामा ५, झापा गाउँपालिकामा २ र भद्रपुर नगरपालिकामा १ जनामा स्क्रब टाइफस पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
के हो स्क्रब टाइफस र यसका लक्षण
स्वास्थ्यकर्मीका अनुसार स्क्रब टाइफस ‘माइट’ (एक प्रकारको सङ्क्रमित किर्ना) को टोकाइबाट मानिसमा सर्ने गर्दछ । समयमै उपचार हुन नसके यसले ज्यानै लिने जोखिम समेत रहन्छ । यो रोग लागेमा निम्न लक्षणहरू देखा पर्छन् ।
उच्च ज्वरो आउने
टाउको र शरीर दुख्ने
खोकी लाग्ने, वान्ता हुने र पेट दुख्ने
पखाला लाग्ने र श्वासप्रश्वासमा समस्या हुने
किर्नाले टोकेको स्थानमा कालो दाग देखिने
बच्ने उपाय र सावधानी
सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य कार्यालयले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । खेतबारी, झाडी वा वन क्षेत्रमा जाँदा शरीरको खुला भाग कम हुने गरी लामो बाहुला भएको कपडा र जुत्ता लगाउन चिकित्सकहरूको सुझाव छ । यस्तै, शरीरमा कीटनाशक मलम प्रयोग गर्ने र घर वरिपरिको वातावरण सफा राख्दै झाडी बढ्न नदिन समेत आग्रह गरिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा स्क्रब टाइफसका सङ्क्रमितको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ, जसले जनस्वास्थ्यमा नयाँ चुनौती थपेको छ ।