गण्डकी प्रदेशमा गाँजाखेतीले पायो कानुनी मान्यता : प्रदेश प्रमुखद्वारा विधेयक प्रमाणीकरण
काठमाडौँ, साउन १८ । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले शुक्रबार उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
यसअघि गत असार २५ गते गण्डकी प्रदेशसभाको बैठकबाट पारित भएको यो विधेयकलाई प्रदेश प्रमुख भट्टले केही विषयमा पुनर्विचार गर्न आवश्यक रहेको भन्दै सन्देशसहित साउन ८ गते प्रदेशसभामा फिर्ता पठाउनुभएको थियो । प्रदेशसभाले गत शुक्रबार उक्त विधेयकलाई पुनः पारित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलका अनुसार, प्रदेशसभाबाट दोस्रो पटक पारित भएर आएको विधेयकलाई प्रदेश प्रमुखले आज प्रमाणीकरण गर्नुभएको हो ।
यो विधेयक प्रमाणीकरण भएसँगै अब गण्डकी प्रदेशभित्र औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेती गर्ने कार्यले कानुनी मान्यता पाएको छ । यसले प्रदेशमा गाँजाको व्यावसायिक उपयोग, प्रशोधन र नियमनका लागि कानुनी मार्ग प्रशस्त गरेको छ ।