हङकङमा राम्रो नतिजाको अपेक्षा
काठमाडौँ, २५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिम चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुन सोमबार राति हङकङ प्रस्थान गर्दैछ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार हङकङ जाने नेपाली क्रिकेट टोलीलाई शुभकामनासहित बिदाइ गर्यो । गत अक्टोबरमा अमेरिकामा टि२० शृङखला खेलेपछि नेपाल टि२० खेलमा फर्किँदैछ ।
सो प्रतियोगितामा आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी हुनेछन् । सो प्रतियोगता आगामी अप्रिल ९ देखि १३ सम्म हुनेछ । प्रतियोगितामा चारै टिमले एकअर्कासँग खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीबिच फाइनल खेलाइनेछ ।
कप्तान रोहित पौडेल हङकङमा राम्रो नतिजा ल्याउन उत्साहित देखएिका छन् । उनका अनुसार प्रतियोगिताको तयारी राम्रो भएको छ, त्यसैले नतिजा पनि राम्रै हुनेछ । भैरहवामा राखिएको पाँच दिनको बन्द शिविर फलदायी भएकोले पनि हङकङमा प्रदर्शन राम्रो हुने रोहितको अपेक्षा छ ।
यस प्रतियोगितामा पूव कप्तान ज्ञानेन्द्र मल्ल प्रशिक्षकको भूमिकामा छन् । नेपाली क्रिकेट टिमका लागि अस्ट्रेलियाली स्टुअर्ट ल प्रशिक्षण नियुक्त भइसकेका छन् । यद्यप यस प्रतियोगिताका लागि भने उनी उपलब्ध नभएकोले मल्लले टिमको रणनीति तयार पार्नेछन् । मल्लले नेपाली सिनियर टिमलाई प्रशिक्षण दिन पाउँदा खुशी भएको साथै जिम्मेवारी पनि उत्तिकै बढेको छ, भने ।
यो प्रतियोगिता नेपालका लागि आगामी टी–२० विश्वकप छनोटको तयारीको दृष्टिकोणले समेत महत्वपूर्ण मानिएको छ ।
नेपाली टोली ः कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, सोमपाल कामी, ललित राजवंशी, कुशल मल्ल, करण के.सी, बसिर अहमद, साहब आलम, नन्दन यादव, रिजन ढकाल, गुलशन कुमार झा र लोकेश बम । प्रशिक्षक ः ज्ञानेन्द्र मल्ल