चारदेशीय अन्तर्राष्ट्रिय टि२० क्रिकेट

कतारविरुद्ध एकपक्षीय जितसहित नेपालको विजयी सुरुआत

काठमाडौँ, २७ चैत । चारदेशीय अन्तर्राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा टि२० प्रतियोगितामा नेपालले बुधबार कतारलाई आठ विकेटले हराएर विजयी सुरुआत गरेको छ ।
हङकङको मिसन रोड क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङ गर्न क्रिजमा आएको कतारले निर्धारीत २० ओभरमा पाँच विकेटको क्षतिमा १५१ रन बनाएको थियो ।

नेपालले १७.२ ओभरमा दुई विकेटको क्षतिमा १५४ रन बनाएर लक्ष्य हासिल गर्यो । प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ शेखले विस्फोटक सुरुआत दिलाएपछि नेपालको जित सहज बनेको हो । यी दुईले पाँच ओभरमै ८० रनको साझेदारी गरेका थिए । विशेषत भुर्तेलको पालि आक्रामक रह्यो । उनले १९ बलमा चार चौका र तीन छक्कासहित ३८ रन बनाए । आसफले २१ ब्लमा ३३ रनको पालि खेले । उनको पालिमा चार छक्का सामेल थियो । यी दुवै ब्याट्समयानलाई स्पीनर मुजीब उर रहमानले आउट गरे ।

भुर्तेल र आसिफ आउट भएपछि कप्तान रोहित पौडेल र बसिर अहमदले अविजित साझेदारी गरी नेपालर्ला जितसम्म पुर्याए । रोहितले २९ बलमा दुई चौका र एक छक्कासहित २७ र बसिरले ३३ बलमा दुई चौका प्रहार गरेर ३० रन बनाए ।

यसअघि कतारका कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रन बनाएका थिए । उनले ५४ बलकै सामना गरेर पाँच चौका र दुई छक्का प्रहार गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरिरहेका नन्दनले खानलाई बोल्ड गरे ।

तेज बलर सोमपाल कामीले दोस्रो ओभरमै रिफायी थुरुभाथलाई ६ रनमा आउट गरेर नेपाललाई चाँडै सफलता दिलाएका थिए । पाँचौँ ओभरमा कारण केसीले अर्का प्रारम्भिक ब्याट्समयान अरुमुगागणेश नगराजनलाई १३ रनमा आउट गरे । कप्तान खान र शहजाब जमिलले तेस्रो विकेटका लाग ४७ रनको साझेदारी गरे । सो साझेदारी ललित राजवंशीले जमिलको विकेट लिएर तोडे । जमिलले २१ बलमा चार छक्कासहित ३१ रन बनाए । अर्को ओभरमा गुलसन झाले जसिम खानलाई चार रनमा पवेलियन फर्काएर कतारको पालि पुनः समस्यामा पारे । त्यसपछि कतारका लागि पालिका अन्तिम समयमा मुजीब (अविजित २० रन) र मोहम्मद इर्शाद (सात बलमा १८ रन)ले उपयोग रन बनाएका थिए । आजको खेलमा भुर्तेल म्यान अफ दि म्याच बने ।

नेपालले बिहिबार कुवेतको सामना गर्नेछ । सबै टिमले एकअर्कासँग खेलेपछि शीर्ष दुई टोलीले शनिबार फाइनल खेल्नेछन् ।