ट्रम्पको भन्सार वृद्धि स्थगनले बजारलाई राहत, तर चीनसँग व्यापार युद्ध थप चर्कियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश देशहरूमाथि लगाइने भनिएको भन्सार शुल्क वृद्धि ९० दिनका लागि रोक्ने घोषणा गरेपछि बिहीबार विश्व बजारले राहत महसुस गरेको छ । यद्यपि, उहाँले महाशक्ति प्रतिद्वन्द्वी चीनसँगको व्यापार युद्धलाई भने थप चर्काउँदै चिनियाँ सामानमा १२५ प्रतिशत कर लगाउने निर्णय गर्नुभएको छ ।

केही दिनको बजार उथलपुथलपछि ट्रम्पले लगभग सबै राष्ट्रका लागि ९० दिनको भन्सार शुल्क वृद्धि रोक्ने घोषणा गरेपछि वाल स्ट्रिट र एसियाभरिका स्टक बजारमा उछाल आयो । यस कदमले विश्वव्यापी व्यापार तनाव तत्कालका लागि कम हुने आशा जगाएको छ ।

तर, चीनको हकमा भने ट्रम्पले ‘सम्मानको कमी’ देखाएको भन्दै भन्सार दर १२५ प्रतिशत पुर्‍याउनुभएको छ । बदलामा बेइजिङले पनि तत्कालै प्रतिकार गर्दै बिहीबार मध्याह्न (०४०१ जिएमटी) देखि लागू हुने गरी अमेरिकी आयातमा ८४ प्रतिशतको प्रतिशोधात्मक भन्सार शुल्क लगाएको छ । यो कदमले विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको तनाव थप गहिरिएको सङ्केत गर्छ ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै बजारको ‘धेरै जटिल’ अवस्था र मानिसहरू ‘अलिकति डराएको’ देखेर भन्सार वृद्धि स्थगनको निर्णय लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईं लचिलो हुनुपर्छ।”

उहाँले चीनसहित सबै देशसँग अन्ततः व्यापार सम्झौता हुने भविष्यवाणी गर्नुभयो, यद्यपि चिनियाँ नेताहरूलाई “यसलाई कसरी अगाडि बढाउने भन्ने थाहा छैन” भनी टिप्पणी गर्नुभयो । ट्रम्पले चीनविरुद्ध अझै “कल्पना गर्न नसकिने” कदम चाल्न सक्ने चेतावनी पनि दिनुभयो ।
यसैबीच, ब्लुमबर्गका अनुसार, चीनको शीर्ष नेतृत्वले व्यापार युद्धबाट प्रभावित आफ्नो अर्थतन्त्रलाई टेवा दिन थप प्रोत्साहन प्याकेज ल्याउने विषयमा बिहीबार छलफल गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *