तीनकुने घटनाको अनुसन्धान जारी, संलग्नलाई कारबाही हुन्छ: गृहमन्त्री लेखक
काठमाडौँ, २९ चैत । गृहमन्त्री रमेश लेखकले हालै तीनकुनेमा राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक तोडफोड र आगजनीका घटनाहरूको अनुसन्धान जारी रहेको र संलग्नहरूलाई पक्राउ गर्ने क्रम चलिरहेको बताउनुभएको छ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले उक्त प्रदर्शनका मुख्य आरोपी मानिएका दुर्गा प्रसाईँलाई पक्राउ गरिसकिएको र घटनामा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी तथा पक्राउ जारी रहेको जानकारी दिनुभयो।
उहाँले प्रदर्शनका क्रममा घाइते भएकाहरूको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्नेसम्बन्धी मन्त्रिपरिषद्ले निर्णय गरिसकेको बताउनुभयो। “अस्पतालमा भर्ना भएका घाइतेहरूलाई मैले भेटेको छु। अस्पताल बाहिरबाट किन्नुपर्ने औषधिको खर्चसमेत सरकारले उपलब्ध गराउनेछ,” उहाँले भन्नुभयो, “घटनामा परी मृत्यु भएका दुवै जनाका परिवारलाई राहतस्वरुप रु दश/दश लाख दिने निर्णय भई प्रक्रिया अघि बढिसकेको छ।”
गृहमन्त्री लेखकले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र वर्तमान व्यवस्थालाई नै समाप्त पार्ने प्रयासको रूपमा व्याख्या गर्नुभयो। “लोकतन्त्रमा आगो लगाएर निरंकुशता खोज्नु कदापि स्वीकार्य हुँदैन,” उहाँले भन्नुभयो, “हिन्दू धर्म जस्तो उत्कृष्ट आस्थालाई निकृष्ट राजनीतिक स्वार्थका लागि प्रयोग गरिनु हुँदैन।”
उहाँले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति असन्तुष्टि राख्ने अधिकार भए पनि लोकतन्त्रको विकल्प खोज्ने वा व्यवस्थालाई पछाडि धकेल्ने छुट कसैलाई नभएकोमा जोड दिनुभयो। तीनकुने घटनालाई सरकारले अत्यन्त गम्भीरतापूर्वक लिएको बताउँदै गृहमन्त्री लेखकले भन्नुभयो, “यस्ता घटनाहरू भविष्यमा हुन नदिन सरकार प्रतिबद्ध छ। घटनाको प्रकृति हेर्दा यो नियोजित रूपमा आतङ्क र अराजकता फैलाउने आपराधिक कार्य हो भन्नेमा हामी स्पष्ट छौँ।”