कृषि मानव जीवनको आधार, आधुनिकीकरणमा जोड: प्रधानमन्त्री ओली

काठमाडौं, २ वैसाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि मानव जीवनका लागि सर्वाधिक महत्त्वपूर्ण र अत्यावश्यक क्षेत्र भए पनि यसको विकास हुन नसकेको बताउनुभएको छ ।
दक्षिण एसियाली किसान फेडेरेसनको दोस्रो सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उहाँले नेपालमा ६०प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित भए पनि अर्थतन्त्रमा योगदान न्यून रहेको र खाद्यान्न आयात गर्नुपर्ने अवस्था दुःखद भएको बताउनुभयो ।
उहाँले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण नहुँदा रोजगारी सिर्जना हुन नसकेको र युवाहरू विदेश पलायन हुनुपरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले कृषिजन्य अवशेष (पराल/छ्वाली) जलाउँदा हुने वातावरणीय प्रदूषण र त्यसले जलवायु परिवर्तनमा पार्ने नकारात्मक असरप्रति सचेत गराउँदै यसको रोकथामका लागि क्षेत्रीय सहकार्य आवश्यक रहेको औंल्याउनुभयो ।
उहाँले किसानहरूलाई ‘संसारका पालक’ को संज्ञा दिँदै सम्मेलनले कृषि विकास र वातावरणीय संरक्षणका लागि ठोस नीतिगत सुझाव दिन आग्रह गर्नुभयो । नेपाल सरकार किसानका जायज सुझाव कार्यान्वयन गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।