मनसुन थप सक्रिय : कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, साउन १९ । नेपालमा मनसुनी वायुको प्रभाव निरन्तर रहँदा आज देशभरको मौसममा बदली र वर्षाको क्रम जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालको तराई भू-भाग नजिक अवस्थित रहेकाले मुलुकभर मौसमी सक्रियता बढेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भू-भागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ‘भारी वर्षा’ हुन सक्ने पूर्वानुमान गरिएको छ । हिमाली भेगका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको समेत सम्भावना रहेको विभागको विज्ञप्तिमा उल्लेख छ ।
आज राति पनि देशभरको मौसम प्रतिकूल रहने देखिन्छ। कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान र मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको प्रक्षेपण गरिएको छ ।
लगातारको वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमप्रति विभागले गम्भीर ध्यानाकर्षण गराएको छ। भारी वर्षा हुने क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम रहने भएकाले नदी तटीय क्षेत्र र भिरालो जमिन आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
यसैगरी, प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन तथा पर्वतारोहण प्रभावित हुन सक्ने चेतावनी दिइएको छ । सडक र हवाई यातायात समेत अवरुद्ध हुन सक्ने सम्भावना रहेकाले सर्वसाधारणलाई यात्रा गर्दा विशेष सावधानी अपनाउन र मौसमसम्बन्धी पछिल्ला जानकारीहरूबारे नियमित अद्यावधिक रहन विभागले अपिल गरेको छ ।