देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री ओली

चितवन, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गर्नुभएको छ ।

नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम राजमार्गलाई थप फराकिलो बनाइने बताउनुभयो ।

“अहिले चुनाव लाग्या पनि छैन र चुनाव प्रचार गर्नु पर्या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म आग्रह गर्न चाहान्छु, सबैलाई सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन । विकासमा ध्यान दिउँ । हामीले एक भएर देश बनाउनुपर्नेछ । मतभेदमा होइन एकतामा जोड दिउँ ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो ।

“विचारमा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद राख्न आवश्यक छैन । देशको विकास हामी सबै मिलेर गर्ने हो । कोही आएर हाम्रो देश बनाउँदैन । आफ्नो बलमा लोकतन्त्रलाई बलियो बनाउँदै राष्ट्रिय एकताका साथ एकजुट भएर अघि बढेर विकास गर्नुपर्छ ।’’