प्राध्यापकहरुले समृद्धि र अग्रगतिका लागि बौद्धिक सक्रियता देखाउनु पर्छ : प्रधानमन्त्री ओली

काठमाडाैं, ८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसंगतियुक्त प्रवृत्तिहरुविरुद्ध प्राध्यापकहरुले बौद्धिकरुपमा सक्रियता देखाउनुपर्ने बताउनु भएकाे छ ।
मुलुकमा प्रकट भइरहेका प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसंगतियुक्त प्रवृत्तिहरुप्रति सजग हुँदै आफ्नो बौद्धिक क्षेत्रबाट विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ विचार निर्माणमा लागि आव्हान गर्नुभएको हो ।
“प्राध्यापक जस्तो सचेत वर्गले लोकतन्त्र र तानाशाहीका बीचको भेद छुट्याउन नसक्ने भन्ने कुरै हुँदैन । कोही पनि सचेत नागरिक आफ्नो समाज कस्तो बनाउने भन्ने सन्दर्भमा तटस्थ रहिरहन सक्दैन । लोकतन्त्रको प्रयोगबाट मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले मिसन २०८४ भनेको छौँ । त्यो मिसन भनेको अराजकतावादी, प्रतिगामी, असभ्यता र देशलाई अँध्यारो यात्रातर्फ फर्काउने प्रयासविरुद्धको मिसन हो ।
यसमा तपाईँहरुले लेखेर–बोलेर बौद्धिकताको प्रर्दशन गरी साथ दिनुपर्छ । विद्वत समुदायका रुपमा समाजमा आफ्नो पहिचान दिनुपर्छ । देशको विकास तब हुन्छ, जब नागरिकहरु स्वस्थ्य, शिक्षित र दक्ष हुन्छन् । नागरिकहरु स्वस्थ्य, शिक्षित र दक्ष बनाउने हाम्रो प्राथमिकता हुनुपर्छ ।”
प्रधानमन्त्री ओलीले शिक्षालाई हरेकको पहुँचभित्र कसरी पुर्याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भनेर हामीले सोच्न आग्रह गर्दै कसरी ज्ञानलाई आर्जन, संकलन र सम्प्रेषण गर्छाैँ भन्ने अति महत्वको विषयमा मनन् गर्न सम्झाउनुभयो ।
उहाँले यस सङ्गठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनका क्रममा भएकाले आगामी दिनमा उच्चशिक्षा क्षेत्रमा गरिनुपर्ने सुधारका लागि प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।