चन्द्रागिरिद्वारा कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकालाई सहयोग
काठमाडौँ, १० वैशाख । चन्द्रागिरि नगरपालिकाले अन्तरपालिका सहकार्य कार्यक्रमअन्तर्गत आफ्ना तीन छिमेकी नगरपालिकालाई विभिन्न आयोजना कार्यान्वयन गर्न रु दश–दश लाख रकम उपलब्ध गराउने भएको छ ।
कीर्तिपुर नगरपालिकालाई कीर्तिपुर–४ स्थित थापागाउँ खरिबोट कुलो निर्माण गर्न चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । गत असोज १०, ११ र १२ गतेको अविरल वर्षाबाट सो कुलो क्षति भएको जनाइएको छ ।
यसैगरी पिपलामोड–निशाकोट–डुडेभञ्ज्जाङ सडक स्तरोन्नति गर्न धुनिबेँसी नगरपालिकालाई चन्द्रागिरिले सो रकम उपलब्ध गराएको हो । चन्द्रागिरि–२ र धुनिबेँसी–९ को सिमानामा सो सडक रहेको छ । दक्षिणकाली नगरपालिका–८ स्थित टिमुरबोट–ओबी डाँडा–घङ्गेरी हुँदै फास्टट्रयाक जोड्ने मोटरबाटोका लागि चन्द्रागिरिले रु १० लाख उपलब्ध गराएको हो ।
चन्द्रागिरि नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले कीर्तिपुर, धुनिबेँसी र दक्षिणकाली नगरपालिकाका नगरप्रमुखसँग द्विपक्षीय सम्झौतामा हस्ताक्षर गर्नुभयो । सो अवसरमा चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगर, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुईँटेल, जननिर्वाचित प्रतिनिधिको उपस्थिति थियो ।