पोखरा थन्डर्स धनगढीसँग बदला लिँदै एनएसएलको फाइनलमा
प्रणित शाक्य
काठमाडौँ, १० वैशाख । समान स्तरका टिमबिच एक खेलाडीको फाइदाले खेलमा ठूलो प्रभाव पर्छ । धनगढी एफसीको हकमा भने उल्टो छ । तेस्रो नेपाल सुपर लिग (एनएसएल)मा विपक्षी दस खेलाडीमा सीमित भएपनि धनगढीले लगातार हारको सामना गर्नुपर्ने नियति भोगेको छ ।
दश खेलाडीमा सीमित पोखरा थन्डर्स बुधबार धनगढी एफसीलाई क्वालिफायर टुमा १–० ले हरायो । सो जितसँगै पोखरा थन्डर्सले फाइनलमा स्थान बनायो । पोखरा थन्डर्स पहिलो पटक एनएसएलको फाइनलमा पुगेको हो । पोखरा थन्डर्सले अब शनिबार ललितपुर सिटी एफसीविरुद्ध उपाधि भिडन्त गर्नेछ । ललितपुर सिटी एफसी उपाधि रक्षा अभियानमा रहेको छ । ललितपुर सिटी एफसीले पनि क्वालिफायर वनमा दस खेलाडीमा सीमित भएर पनि धनगढी एफसीलाई नै नाटकीय रुपमा हराएको थियो ।
विनोङ निर्णायक
समूह चरण शीर्ष दुईमा रहेर सकाएकोले ललितपुरसँगको हारपछि पनि धनगढीसमक्ष फाइनल पुग्ने अर्को अवसर थियो पोखरालाई हराएर । तर खेलको इन्जुरी समयमा क्यामरुनी स्ट्राइकर स्टेफन समिर विनोङले गरेको हेड गोलले बराबरीतर्फ अग्रसर खेलमा पोखरा थन्डर्सले नाटकीय जित पार्यो । दशरथ रङगालामा इन्जुरी समयको चौथो मिनेटमा विनोङले गोल गरेका हुन् । पोखराका कप्तान आयुष घलानको कर्नर प्रहारमा विनोङले विपक्षीको मार्कीकङमा भएपनि हेड गरी बल गोलपोस्टमा छिराए । यसअघि खेलको ८५ औँ मिनेटमा पोखराका गौरव श्रेष्ठले रातो कार्ड पाएपछि सबैले धनगढीले खेल जितेर लगातार तेस्रो पटक फाइनलमा स्थान बनाउने अपेक्षा गरेको थियो ।
धनगढीको तेस्रो पटक फाइनल खेल्ने सपना चकनाचूर
पोखरासँग हारपछि पछिल्ला दुई संस्करणमा फाइनल खेलेको धनगढी एफसीको लगातार तेस्रो पटक उपाधि भिडन्त गर्ने सपना चकनाचूर भयो । धनगढी एफसी पछिल्ला दुवै संस्करणको फाइनल खेलेको टिम हो । तर पहिलो सस्करणमा काठमाडौँ रेजर्स र दोस्रो संस्करणमा ललितपुर सिटीएफसीले धनगढीलाई च्याम्पियन हुन दिएन । यसपालि त धनगढीले दुई पटक क्वालिफायरमा मौका पाएर पनि फाइनलमै स्थान बनाउन सकेन ।
पोखराको लागि यो जित बदला पनि भएको छ । गत संस्करणमा धनगढी एफसीले दुई पटक पछाडि परेर पनि पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराएर फाइनलमा स्थान बनाएको थियो । जुन एनएसएलको इतिहासमै अहिलेसम्मको एक मात्र पेनाल्टी सुटआउट हो । लिग चरणमा धनगढी र पोखराबीचको खेल गोलरहित बराबरीमा टुङ्गिएको थियो ।
‘एक खलाडीको फाइदाले ओभरकन्फिडेन्ट भयौँ’
धनगढीका कप्तान देवेन्द्र तामाङले विपक्षी टिम दस खेलाडीमा सीमित भएप्छि आप्नो टिम ओभरकन्फिडेन्ट भएको बताए । ‘ललितपुरको खेल जस्तै भयो । शायद एक खेलाडीको फाइदा भएपछि मेरो टिम ओभर कन्फिडेन्समा खेल्यो ।‘ धनगढीका प्रशिक्षक हुवाँ म्यानुअल मार्टिनेजले सेट पिसेजमा राम्रो मार्किङ गर्न नसक्दा हार वेहोर्नुपरेको भने । ‘समय थोरै हुँदा सेट पिस मार्किङमा खासै अभ्यास गर्न नपाउँदा पनि यो स्थ्तिि आएको हो
यसैगरी पोखराका प्रशिक्षक सुमन श्रेष्ठले खेलाडीहरुको मिहिनेत र केही भाग्यले जित्न सफल भयौँ भन्ने धारणा राखे ।