छैटौँ राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता सम्पन्न

काठमाडौँ,  कात्तिक २४ । छैटौँ राष्ट्रिय खुला अन्तरवडा टेबलटेनिस प्रतियोगिताको पुरुष खुलातर्फ काठमाडौँ महानगरपालिका २५ को टोली प्रथम भएको छ । नगाउँ स्पोर्ट्स क्लबको आयोजना तथा कीर्तिपुर नगरपालिका ९ को समन्वयमा कात्तिक २१ देखि २३ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न उमेर समूह र विधाका खेलाडीबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको पुरुष खुलातर्फ ललितपुर महानगरपालिका ७ को टोली दोस्रो भएको छ भने कीर्तिपुर नगरपालिका ९ र काठमाडौँ महानगरपालिका २६ का टोली तेस्रो भएका छन् ।

४० वर्षमाथिको खुला एकलतर्फ काठमाडौँ महानगरपालिका २६ का चन्दन शाही प्रथम हुनुभयो । ललितपुर महानगरपालिका ७ का उमेश मानन्धर दोस्रो तथा ललितपुर ९ का मुकेश महर्जन र राजकुमार खड्गी तेस्रो हुनुभयो ।

त्यसैगरी, ५० वर्षमाथिको खुला एकलतर्फ ललितपुर महानगरपालिका ११ का जयराम महर्जन प्रथम र सोही वडाका राजेन्द्र बज्राचार्य दोस्रो हुनुभयो । काठमाडौँ महानगरपालिका १ का रक्तचन्द्र मानन्धर र ललितपुर ११ का सुर्जा श्रेष्ठ तेस्रो हुनुभयो ।

कीर्तिपुर टेबलटेनिस सङ्घका अध्यक्ष प्रशान्त महर्जनका अनुसार १६ वर्षमुनिको कीर्तिपुर आन्तरिक पुरुष एकलतर्फ कीर्तिपुर नगरपालिका ३ का संयम गोपाली प्रथम हुनुभयो । कीर्तिपुर–१ का शिरिष महर्जन दोस्रो तथा कीर्तिपुर ९ का भेरोन महर्जन र सुशन प्रधान तेस्रो हुनुभयो ।

महिला खुला एकलतर्फ भक्तपुर नगरपालिक ५ की दिव्या देउला प्रथम हुनुभयो । ललितपुर महानगरपालिका १७ की अर्सना महर्जन दोस्रो तथा ललितपुर १९ की एम्रिन महर्जन र ललितपुर १६ की काव्या शाक्य तेस्रो हुनुभयो ।

प्रतियोगिताले विभिन्न उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै टेबलटेनिस खेलको विकास र खेलाडीको प्रतिभा पहिचानमा सहयोग पुर्‍याएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *