प्रधानमन्त्री ओलीद्वारा भूकम्प स्मृति दिवसमा सम्बोधन: पूर्वतयारी र राष्ट्रिय एकतामा जोड

काठमाडौँ, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालको विनाशकारी भूकम्पको दशौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ ।

उहाँले भूकम्प जस्ता प्राकृतिक विपत्तिहरूबाट भविष्यमा हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सुरक्षित संरचना निर्माणमा जोड दिनुभएको छ । साथै, विपद्का बेला र राष्ट्रिय महत्वका विषयमा दलहरूबीच देखिएको एकताको स्मरण गर्दै भविष्यमा पनि यस्तै एकता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले १० वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको महाभूकम्प र त्यसपछिका पराकम्पनले निम्त्याएको त्रासदीपूर्ण अवस्थाको स्मरण गर्नुभयो । उहाँले भूकम्पमा परी जीवन गुमाउने ९ हजारभन्दा बढी नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो ।

भूकम्पले ९ लाखभन्दा बढी संरचना र ऐतिहासिक धरोहरहरूमा क्षति पुऱ्याएको उल्लेख गर्दै प्रधानमन्त्रीले नेपालले सफलतापूर्वक पुनर्निर्माण सम्पन्न गरेर राष्ट्रिय उत्थानशीलता प्रदर्शन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सफलतापूर्वक पुनःनिर्माण गरेका छौं र नेपाल एउटा भूकम्पछिको पुनःउत्थानशील समाज हो भन्ने कुरा सफल कामहरुबाट देखाएका छौं ।”
तथापि, उहाँले नेपालको आर्थिक क्षमताले मात्रै यस्ता ठूला विपद्पछिको पुनर्निर्माण धान्न कठिन हुने यथार्थ औंल्याउनुभयो ।

यसकारण, क्षति भइसकेपछि पुनर्निर्माण गर्नुभन्दा क्षति नै हुन नदिनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो । “भूकम्पबाट नभत्किने संरचना वा घरहरु बनाउनु पर्ने आवश्यकता छ । भत्किनजेल पर्खिने होइन,” उहाँले भन्नुभयो । प्रधानमन्त्रीले परम्परागत कमजोर घरहरूको सट्टा बलियो सामग्री प्रयोग गरी सुरक्षित आवास निर्माण गर्न नागरिकहरूलाई पनि आग्रह गर्नुभयो ।

सरकारले फुसको छानो विस्थापन र जनता आवास जस्ता कार्यक्रममार्फत सुरक्षित आवास निर्माणमा पहल गरे पनि कानुनी र व्यावहारिक अड्चनहरू हटाउँदै यसलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि पूर्वतयारीमा विशेष जोड दिन निर्देशन दिनुभयो ।

भूकम्पका बेला देश संविधान निर्माणको महत्वपूर्ण चरणमा रहेको स्मरण गर्दै प्रधानमन्त्रीले उक्त संकटको घडीमा राजनीतिक दलहरूले पक्ष-विपक्ष नभनी देखाएको राष्ट्रिय एकता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले राष्ट्रिय हित, सुशासन र विकासका मुद्दाहरूमा पनि यस्तै राष्ट्रिय एकता आवश्यक रहेकोमा जोड दिनुभयो ।